बढ्यो कोरोना संक्रमण, दैनिक सय नाघे संक्रमित

होस्ट खबर ६ बैशाख २०८०, बुधबार
3 Min Read
Aa

काठमाडौं : कोरोना भाइरसको बढ्दो संक्रमणसँगै मृत्युदर पनि बढ्ेको छ। एक साताभित्र चार जनाको ज्यान गएको छ। एक महिनादेखि बढ्न थालेको संक्रमणबाट एक साताभित्र चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। चैत २९ र वैशाख ४ गते एकरएक र मंगलबार थप दुई जनाको ज्यान गएको हो। वीर अस्पतालका निर्देशक डा। सन्तोष पौडेलका अनुसार जसमध्ये दुई जना अस्पतालमा उपचाररत थिए। मृत्यु भएका संक्रमितमा श्वासप्रश्वास, मधुमेह, रक्तचापलगायतका दीर्घ रोग रहेको पाइएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार पीसीआर र एन्टिजेन परीक्षण गर्दा पछिल्लो चौबीस घण्टामा १ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ। दुई हजार २ सय ९२ नमुना परीक्षण गर्दा ६ प्रतिशतभन्दा बढीमा कोरोना पुष्टि भएको हो। पछिल्लो दुई सातादेखि भर्ना हुने संक्रमितको संख्या वृद्धि हुन थालेको छ। हाल भेन्टिलेटरमा चार जनाको उपचार भइरहेको छ। त्यस्तै ८ जना सघन उपचार कक्ष (आईसीयू)मा उपचाररत छन्। संस्थागत आइसोलेसनमा २२ जना छन्। निको हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

चैत पहिलो साता फाट्टफुट्ट कोरोना संक्रमण देखिएको थियो। वैशाख लागेयता दैनिक १ सय हाराहारीमा नयाँ संक्रमित फेला पर्न थालेका छन्। उनीहरूको उपचार वीर अस्पताल, श्री वीरेन्द्र अस्पताल छाउनी, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र ग्रान्डी इन्टरनेसनल अस्पताल लगायतमा भइरहेको छ। मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ३ सय ९७ पुगेको छ।

सहप्रवक्ता डा। अधिकारीले कोभिड–१९ विरुद्धको खोप नलगाएका सबैले नजिकैको स्वास्थ्य संस्थामा गई पहिलो, दोस्रो र बुस्टर मात्रा खोप लगाउनुपर्ने बताए। ‘कोरोनाको संक्रमणबाट हुने जोखिम कम गर्न र जटिलता हुनबाट बच्न खोप लगाउनुपर्छ’, डा. अधिकारीले भने, ‘आफू बच्न, अरूलाई बचाउन, संक्रमण तोड्न र नयाँ भेरियन्ट आउन नदिन पनि खोप लगाउनुपर्छ।’

सेवा प्रवाहको चुनौती

निजामती अस्पतालका निर्देशक डा। विधाननिधि पौडेलले डाक्टर, नर्ससमेत संक्रमणको चपेटामा परेको बताए। स्वास्थ्यकर्मी संक्रमित हुँदा दुई दिन इन्डोस्कोपी सेवा बन्द गर्नु परेको बताए। भने, ‘संक्रमित स्वास्थ्यकर्मी पाँच दिन बिदा दिने गरेका छौं। संक्रमण दर बढ्दै गएमा चुनौती थपिनेछ।’

त्रिवि शिक्षण अस्पतालका निर्देशक डा। दिनेश काफ्लेले सर्वसाधारण र स्वास्थ्यकर्मीलाई समेत संक्रमण पुष्टि हुने क्रम बढेको बताए। ‘कोभिड संक्रमित बढ्दै गएमा ननकोभिडको स्थानमा कोभिडका बिरामीलाई राखेर उपचार गर्ने योजना छ’, उनले भने। अस्पतालमा कार्यरत एक दर्जन स्वास्थ्यकर्मीलाई संक्रमण पुष्टि भइसकेको डा। काफ्लेले बताए।

वीर अस्पतालका निर्देशक डा। सन्तोष पौडेलका अनुसार, संक्रमितको संख्या बढेसँगै अस्पतालमा शय्या तयारी अवस्थामा राखिएको छ। आईसीयूसहितको एक सय बेड संक्रमितका लागि छुट्याएर राखिएको डा। पौडेलले जानकारी दिए।

नेपालमा देखिएको भेरिएन्ट भारतमा तीव्र रूपमा फैलिरहेको ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ हो। यसबाहेक ओमिक्रोन बीए १.१, बीए २, ओमिक्रोन बीए ५, ओमिक्रोन बीए ५.२, ओमिक्रोन एक्सबीबी १.५, बीए २.७६, एक्सबीबी २.६ र एक्सबीएफ भेरिएन्ट सक्रिय रहेको मन्त्रालयले जनाएको छ। अन्नपूर्ण पोष्टबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्