‘२०७९’ निर्वाचनको वर्ष: चुनिए ३७ हजार ४६ नेता

होस्ट खबर १ बैशाख २०८०, शुक्रबार
3 Min Read
Aa

काठमाडौं : प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह गरी तीनै तहमा वर्ष २०७९ मा निर्वाचन सम्पन्न हुँदा मुलुकमा ३७ हजार ४६ जना जनताका नेता चुनिएका छन् । नेपालको निर्वाचन इतिहासमा २०५६ सालपछि एकै चरणमा निर्वाचन भएको यो नै पहिलो वर्ष मानिएको छ ।

वर्ष २०७९ मा निर्वाचनमार्फत वडा सदस्यदेखि, पालिका तहका नेतृत्व हुँदै प्रदेश र प्रतिनिधिसभा सदस्यसम्म चुनिएका छन् । यस्तै, मुलुकले वर्ष २०७९ मा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमार्फत दुवै पदमा नयाँ अनुहार पाएको छ ।

निर्वाचनमार्फत नेपालको राजनीतिक इतिहासमा वर्ष २०७९ ले ऐतिहासिक वर्षका रूपमा दर्ज हुने अवसरसमेत पाएको हो । गाउँगाउँमा सिंहदरबारको नारासहित संघीय संरचनामा अघि बढिरहेको मुलुकमा घरआँगनबाटै सेवा लिन आफ्ना नेता आफैं छान्ने दोस्रो विशेष वर्षका रूपमा वर्ष २०७९ रह्यो ।

३० वैशाखबाट स्थानीय तहको निर्वाचन हुँदै आरम्भ भएको मुलुकको चुनावी यात्रा ३ चैतमा उपराष्ट्रपतिको निर्वाचनसँगै सकिएको हो । स्थानीय तहको निर्वाचन ३० वैशाखमा सम्पन्न हुँदा स्थानीय तहका ६ वटा महानगरपालिका, ११ वटा उपमहानगरपालिका, २ सय ७६ नगरपालिका, ४ सय ६० गाउँपालिका गरी कुल ७ सय ५३ स्थानीय तहमा ३० वैशाखमा नेतृत्व चयन भएको थियो ।

सो निर्वाचनमार्फत १५ सय ६ जना प्रमुख तथा उपप्रमुख, ६ हजार ७ सय ४३ वडामा वडा अध्यक्ष र ती वडाका २६ हजार ९ सय ७२ सदस्यसमेत निर्वाचनमा जनताका मतमार्फत चुनिएको थियो । यी सबै गरी स्थानीय तहमा मात्रै ३५ हजार २ सय २१ जनप्रतिनिधि चयन भएका छन् ।

यसैगरी, ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमार्फत १ सय ६५ जना प्रत्यक्ष र १ सय १० जना समानुपातिक गरी २ सय ७५ जना प्रतिनिधिसभा सदस्य पनि वर्ष २०७९ मा चयन भएका छन् ।

यस्तै, वर्ष २०७९ मा ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा पनि नयाँ नेतृत्व निर्वाचित हुन पुगे । प्रत्यक्षतर्फ ३ सय ३० र समानुपातिकतर्फ २ सय २० गरी ५ सय ५० जना प्रदेशसभा सदस्य वर्ष २०७९ मा निर्वाचित गरिएको हो ।

२५ फागुनमा राष्ट्रपतिको निर्वाचनमार्फत नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल र ३ चैतमा उपराष्ट्रपतिको निर्वाचनमार्फत रामसहायप्रसाद यादव निर्वाचित भएका हुन् ।

स्थानीय तहदेखि प्रतिनिधिसभा र प्रदेशसभामासमेत गरी वर्ष २०७९ मा ३६ हजार ४६ जना नेता चयन गरिएको निर्वाचन आयोगले जनाएको छ । २०७४ सालमा सम्पन्न तीनै तहका निर्वाचनपछि वर्ष २०७९ निर्वाचनको वर्षका रूपमा बितेको हो ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले वर्ष २०७९ निर्वाचनको वर्षका रूपमा दर्ज भएको बताए । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्