निर्वाचन आचारसंहिता अनुगमनमा कडाइ

होस्ट खबर २६ चैत्र २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौं : उपनिर्वाचनको लागि औपचारिक प्रचारप्रसार शुरू भएसँगै निर्वाचन आयोगले आचारसंहिता पालना गरे नगरेको विषयमा कडाइका साथ अनुगमन गर्न शुरू गरेको छ ।

यही वैशाख १० गते चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा हुने उपनिर्वाचनको लागि शुक्रबारदेखि औपचारिक प्रचारप्रसार शुरू भएको थियो । त्यसलाई मध्यनजर गरी आयोगको केन्द्रीय अनुगमन समितिले सूक्ष्म निगरानी राख्न शुरू गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । समितिले नेपाल सरकार गृह मन्त्रालयसँग समन्वय गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धान विभागको जिल्लास्थित कार्यालयबाट निर्वाचन आचारसंहिता पालना भए/नभएको निगरानी गर्न शुरू गरेको हो ।

समितिले निर्वाचन आचारसंहिता, २०७९ उल्लंघन गरेको पाइएमा उजुरी दिन चाहने व्यक्तिले लिखित, मौखिक, सामाजिक सञ्जाल, विद्युतीय माध्यमबाट आधार र कारण खुलाई सोसम्बन्धी प्रमाण समेत संलग्न गरी उजुरी दिन पनि आग्रह गरेको छ । सहायक प्रवक्ता अर्यालका अनुसार समितिले निर्वाचन आचारसंहिता, २०७९ को प्रभावकारी कार्यान्वयन गर्न/गराउन गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइएको छ । त्यस्तै, आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न/गराउनको लागि आवश्यक व्यवस्था मिलाउन उपनिर्वाचन हुने तीनवटै जिल्लाका आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिइएको छ ।

विशेषतः चुनावी प्रचारप्रसारको लागि तोकिएको खर्चको सीमाको पालना भएको छ कि छैन, निर्वाचनलाई प्रभावित प्रलोभन दिइएको छ कि छैन भनेर विशेष किसिमले निगरानी राख्न निर्देशन दिइएको आयोगले जनाएको छ । नेपाल समाचारपत्र दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्