सिक्किममा गएको हिमपहिरोमा तीन नेपालीसहित ७ जनाको मृत्यु

होस्ट खबर २२ चैत्र २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौं : भारतको सिक्किममा गएको हिमपहिरोमा परेर तीन जना नेपालीसहित सात जनाको मृत्यु भएको छ । मंगलबार गएको हिमपहिरोमा १३ जना घाइते भएका छन् । हिमपहिरोमा तीन जना नेपाली, दुई जना उत्तर प्रदेशका र पश्चिम बंगालका दुई जनाले ज्यान गुमाएको भारतीय सञ्चार माध्ययमा जनाइएको छ ।

गान्तोक जिल्ला कलेक्टरले जारी गरेको सूचना अनुसार ज्यान गुमाउनेमा चितवन नेपालका शिवप्रसाद लामिछाने, २२ वर्षकी आशिका ढकाल र रुपन्देही नेपालकी २९ वर्षीया मुना शाह श्रेष्ठ रहेका छन।

त्यसैगरी भारत उत्तर प्रदेशका ३२ वर्षका बल सिंह र ६ वर्षकी रेव्या सिंह, पश्चिम बंगालका २८ वर्षका सौरभ रोय चौधरी र ३८ वर्षका प्रितम मतिए रहेका छन। त्यसैगरी हिमपहिरोमा परि घाइते भएका १३ जना मध्ये ७ जनालाई गान्तोकको एसटीएनएम अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ भने ६ जनाको उपचार चलिरहेको छ।

घाइतेहरु मध्ये नेपालकी ४० वर्षीया गीता सापकोटा, ३८ वर्षकी ज्योति गुरुङ र ४३ वर्षका रमेश खनाल सहित सिलिगुडीका पपल सरकार र रञ्जिता दास र कोलकाताका सुभ्र ज्योतीहरुको अस्पतालमा उपचार चलिरहेको छ।

दिल्लीका पर्व गोयल र नेहाल गोयल, लखनउका निरज शर्मा, कोलकाताकी पुतुल सिंह र कोलकाताकै राकेश सिंह, सुमित दास, तथागत रोय चौधरी सामान्य उपचारपछि डिस्चार्ज भएका छन्। गान्तोकका जिल्ला कलेक्टर तुषार जी निखारेले घटनामा ३ जना नेपाली नागरिकसहित ७ जनाको ज्यान गएको बताए।

हिमपहिरोमा ज्यान गुमाएकाको शवलाई उनीहरुको घरसम्म राज्य सरकारले पुर्‍ याउने निर्णय गरेको छ। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले मंगलवार साँझ एसटीएनएम अस्पतालमा घाइतेहरुसँग भेट गरी उनीहरुको सबै उपचार खर्च राज्य सरकारले वहन गर्ने र मृतकहरुको शव पनि राज्य सरकारले उनीहरुको घरसम्म पुर्‍ याउने बताए।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्