वैशाख १० को उपनिर्वाचन: आज उम्मेदवारी मनोनयन हुँदै

होस्ट खबर २० चैत्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं : आगामी वैशाख १० मा हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। निर्वाचन आयोगका अनुसार चितवन-२, तनहुँ–१ र बारा–२ मा वैशाख १० मा हुन गइरहेको उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन पत्र दर्ता हुन गइरहेको हो।

आयोगले यसअघि नै सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार सो उपनिर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर आ–आफनो उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेछन्।

गत मङ्सिर ४ गतेको निर्वाचनवाट निर्वाचित राष्ट«य स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन–२ रिक्त हुन पुगेको थियो।

यसैगरी, नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ– १ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा–२ रिक्त हुन पुगेको थियो। बारा–२ मा जनता समाजवादी पार्टी नेपालले जित हासिल गरेको थियो। रिक्त रहेका तीनवटा निर्वाचन क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुन लागेको हो।

सो उपनिर्वाचन प्रयोजनका लागि शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्