बारा-२ उपनिर्वाचनः उपेन्द्र भर्सेज राजेन्द्र

होस्ट खबर ११ चैत्र २०७९, शनिबार
3 Min Read
Aa

काठमाडौं : बारा २ मा उपनिर्वाचन हुने भएपछि राजनीतिक चलहलपह बढेको छ । निर्वाचनमा मधेसवादी दलका शीर्ष नेताकै बीचमा प्रतिस्पर्धा हुने भएको छ । गत ४ मंसिरमा भएको निर्वाचनमा पराजित उम्मेदवारले उपनिर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् ।

बारा २ बाट निर्वाचित सांसद रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त सो क्षेत्रमा निर्वाचन आयोगले १० वैशाखमा उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतो, जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचनमा प्रतिस्पर्धा गर्नेगरी आन्तरिक तयारीमा जुटेका छन् । जनमत पार्टीका अध्यक्ष डा सिके राउत, आमजनता पार्टी (आजपां)का अध्यक्ष प्रभु साहले पनि छुटाछुटै उम्मेदवार उठाएर महतो र यादवलाई टक्कर दिने आन्तरिक तयारीमा जुटेका छन् ।

गत ४ मंसिरको निर्वाचनमा सर्लाहीबाट महतो र सप्तरीबाट यादव पराजित भएका थिए । महतो महेन्द्र यादवसंग र उपेन्द्र डा सिके राउतसँग निर्वाचनमा पराजित भएका थिए । उनीहरूले बारा २ बाट उपनिर्वाचन जितेर संसद्मा प्रवेश गर्ने रणनीति बनाएका छन् । उता डा। राउत र साहले स्थानीय उम्मेदवारलाई नै प्राथमिकता दिने रणनीति बनाउँदै उम्मेदवार उठाउने तयारी गरेका छन् ।

लोसपा बाराका अध्यक्ष नवलकिशोर सिंहले बारा २ बाट पार्टीका वरिष्ठ नेता महतोलाई चुनाव लडाउने विषयमा पार्टीमा छलफल भइरहेको बताए ।

जसपा राजनीतिक समितिका सदस्य प्रमोद गुप्ताले बारा २ बाट पार्टी अध्यक्ष यादवलाई नै उम्मेदवार बनाउने जानकारी दिए । पार्टीले केही दिनभित्रैमा निर्णय गर्ने उनले बताए । राष्ट्रिय राजनीति, मधेस आन्दोलनमा गरेको योगदानलगायतका विभिन्न कारणले यादवको आवश्यकता संसद्मा रहेको महसुस बाराका जनताले गरेको दाबी गुप्ताको छ ।

जनमत पार्टीका नेता बीपी साहले पार्टीले स्थानीय उम्मेदवारलाई उठाउने बताए । आजपाका प्रवक्ता सिवि साहका अनुसार उनको पार्टीले छिटै नै उम्मेदवार’दयगत टुंगो लगाउनेछ । पार्टीभित्र आन्तरिक छलफल भइरहेको भन्दै उनले स्थानीय उम्मेदवारलाई पार्टीले टिकट दिने योजना रहेको सुनाए ।

उता जनमत र आजपाले उम्मेदवार कसलाई बनाउने भन्नेमा निष्कर्षमा पुग्न सकेका छैनन् । यद्यपि दुवै दलले स्थानीय नेतालाई उम्मेदवार बनाउने विषयमा पार्टीको आन्तरिक छलफलमै रहेका छन् । बारा २ मा लोसपा, जसपा, जनमत र आजपाको पकड बलियो रहेको छ । चारवटै दलले छुटाछुटै उम्मेदवार उठाउने र राष्ट्रिय एवं ठूला दलको समर्थन प्राप्त गर्न सत्तारूढ गठबन्धनभित्र आन्तरिक छलफल थालेका छन् । यी चारवटै दल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सत्तारूढ गठबन्धनभित्र रहेका छन् । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्