तनहुँ-१ र बारा-२ को उपनिर्वाचन वैशाख १० मा हुने

होस्ट खबर ७ चैत्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं : राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि रिक्त भएको दुई छुट्टाछुट्टै निर्वाचन क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ। तनहुँ–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि दुवै निर्वाचन क्षेत्र रिक्त भएको थियो।

सङ्घीय संसद्ले सोमबार आयोगलाई पत्राचार गरी दुवै निर्वाचन क्षेत्र रिक्त भएको जानकारी गराएपछि आयोगले उपनिर्वाचन गर्ने निर्णय गर्दै निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले दुवै क्षेत्रको उपनिर्वाचनका लागि यही चैत २० गते उम्मेदवार मनोनयन हुने तालिकासहितको निर्वाचन कार्यक्रम प्रकाशित गरिएको बताए।

कार्यक्रमबमोजिम मनोनयन दर्ता गराएका उम्मेदवारले चैत २३ गते नाम फिर्ता लिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिनेछ। आगामी वैशाख १० गते बिहान ७ देखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ।

चितवन–२ मा समेत आगामी वैशाख १० गते उपनिर्वाचन हुँदै छ। गोरखापत्र दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्