युद्धकालीन मुद्दा ब्यूँताए द्वन्द्वकालीन सहकर्मी एक हुने

होस्ट खबर २२ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं : युद्धकालीन मुद्दा ब्यूँताएर माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास भइरहेको भन्दै त्यसका विरुद्ध द्वन्द्वकालीन सहकर्मीहरू एक ठाउँ हुने सन्देश दिएका छन् ।

माओवादी आन्दोलनका शीर्ष नेताहरू पुष्पकमल दाहाल (प्रचण्ड), डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द (विप्लव), धर्मेन्द्र बाँस्तोला, कर्णजित बुढाथोकीलगायत नेताहरूले आइतबार एउटै मञ्चबाट द्वन्द्वकालीन मुद्दामा पूर्व सहकर्मीहरू एक हुने सन्देश दिएका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाउने रिट दर्ता गर्ने आदेशका विरुद्धमा प्रचण्डसहित नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एक ठाउँमा उभिएर प्रतिकार गर्ने बताएका छन् ।

अध्यक्ष प्रचण्डलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाउने आदेश माग गर्दै पेश गरिएका दुई वटा रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै नेताहरूमा तरंग उत्पन्न भएको छ ।

प्रचण्डले तीन वर्षअघि काठमाडौंको खुल्ला मञ्चबाटै युद्धका बेला मारिएका पाँच हजार व्यक्ति हत्याको जिम्मा आफूले लिने अभिव्यक्ति दिएका थिए ।

रामेछापका कल्याण बुढाथोकी र अधिवक्ता ज्ञानेन्द्र आरणले उक्त अभिव्यक्तिलाई टेकेर प्रचण्डमाथि अनुसन्धानको माग गर्दै दर्ता गरेका रिट अदालत प्रशासनले दरपीठ गरिदिएपछि त्यसविरुद्ध अदालतमा निवेदन परेको थियो ।

उक्त निवेदनको सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडा र हरि फुँयालको इजलासले दरपीठ बदर गरी रिट दर्ता गर्न आदेश गरेको थियो । नेपाल समाचारपत्रबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्