राष्ट्रपतिको उम्मेदवार बन्न नेपाललाई ओलीको प्रस्ताव

होस्ट खबर ९ फाल्गुन २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति पदको उम्मेदवार बन्न प्रस्ताव गरेका छन् । राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा आइतबार दिउँसो महाराजगन्जमा दुई दलका अध्यक्षबीच भेट भएको स्रोतले बताएको छ । एमाले अध्यक्ष ओलीले नेपाललाई पार्टी एकतासहित राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका हुन् ।

पार्टी विभाजनपछि विवाद व्यक्तिगत तवरमै चलिरहेका बेला ओली र नेपालबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । एमालेबाट विद्रोह गरेर वरिष्ठ नेता माधवकुमार नेपालले गत २०७८ को भदौमा नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका थिए ।

एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाललाई समेत राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका छन् । त्यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई समेत ओलीको सोही प्रस्ताव रहेको छ ।

प्रधानमन्त्री तथा नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबारको पदाधिकारी बैठकमा ओलीले राष्ट्रिय सहमति हुनेगरी उम्मेदवारको नाम अघि नसारेको ब्रिफिङ गरेका थिए । गठबन्धन जोगाउन ओली आफैँले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई राष्ट्रपतिमा अघि सार्न सक्ने सङ्केत आफूले पाएको दाहालले काँग्रेस नेताहरूलाई बताएका थिए । आइतबार राति दाहाललाई भेट्न काँग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता बालुवाटार पुगेका थिए ।

गत १० पुसमा नेकपा एमालेलाई राष्ट्रपति दिने सर्तमा प्रधानमन्त्री नियुक्त भएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समयमा सहमतीय राष्ट्रपतिको बिषय उठान गरे पछि राजनीतिक माहौल एकाएक फेरिन पुगेको मात्रै छैन, एमाले–माओवादी गठबन्धनमा समेत समस्या देखा परेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्