चितवन–२ उपनिर्वाचन: कांग्रेसबाट डा. स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने तयारी

होस्ट खबर ३ फाल्गुन २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौं : चितवन–२ मा आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा रास्वपाले सभापति रवि लामिछानेलाई नै उम्मेदवार बनाउने भएको छ । निर्वाचन आयोगले चितवन–२ मा बैशाख १० गतेलाई उपनिर्वाचन गर्ने निर्णयसँगै निर्वाचन कार्यतालिकापनि सार्वजनिक गरिसकेको छ ।

रास्वपाका सभापति लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले फैसला गर्दै उनको सांसद पद खारेजी गरेको थियो । यो बीचमा लामिछानेले नागरिकता पूनः प्राप्ति पनि गरिसकेका छन् । उनी भर्खरै चितवन पुगेर पनि फर्किएका छन् । सो क्षेत्रमा यसअघि नै प्रतिष्पर्धामा रहेका कांग्रेस र एमालेका उम्मेदवार उमेश श्रेष्ठ र कृष्णभक्त पोखरेलले चुनाव उठ्ने बताएका छन् । तर, पार्टीले गर्ने निर्णय मान्ने उनीहरुको भनाई छ ।

कांग्रेसमा भने युवा नेताहरुले चितवन–२ मा डा. स्वर्णिम वाग्लेलाई अघि सार्नेगरि छलफल थालेका छन् । गत मंसिर ४ गतेको निर्वाचनमा वाग्ले चितवनबाट चुनाव लड्ने चर्चा थियो । तर, पार्टी सभापति शेरबहादुर देउवाले टिकट नदिएपछि उनी चुनाव लड्नबाट बञ्चित भएका थिए । हुन उनको लागि महामन्त्री गगनकुमार थापाले काठमाडौ–४ मा पनि छोड्नेसम्मको तयारी गरेका थिए । वाग्लेले भने अहिलेसम्म उपनिर्वाचनमा उम्मेदवारी दिने वा नदिने भन्नेबारे कुनै निर्णय गरेका छैनन् ।

त मंसिर ४ गते सम्पन्न निर्वाचनमा लामिछाने सो क्षेत्रबाट भारी मतान्तरले विजयी भएका थिए । जम्मा ८३ हजार ९ सय ५६ जनाले मतदान गरेको सो क्षेत्रबाट लामिछानेले ४९ हजार २ सय ६४ मत पाएका थिए ।

लामिछानेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ मत प्राप्त गर्दा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ६७ मत हाँसिल गरेका थिए । सो क्षेत्रबाट ०७० र ०७४ को निर्वाचनमा दुवैपटक एमालेका कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्