रास्वपालाई पुन सरकारमा ल्याउने प्रयास

होस्ट खबर २५ माघ २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौं : गृह मन्त्रालय नपाएपछि सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा लाई पुनः सरकारमा ल्याउने प्रयत्न भइरहेको छ । मङ्गलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रास्वपालाई पुनः सरकारमा ल्याउने प्रयत्न भइरहेको बताएकी छन्। उनले पार्टीलाई पुनः सरकारमा ल्याउन राजनीतिक ढङ्गबाट पहल गरिएको बताइन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपालाई गृह मन्त्रालय दिन नसकिने बताएर, त्यसको साटो भौतिक मन्त्रालय दिने भएपछि सो पार्टीले सरकार छोडेको थियो । रास्वपासहितको समर्थनमा गत १० पुसमा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार गठन भएको थियो ।

मन्त्री शर्माले रास्वपाले सरकारको समर्थन फिर्ता नलिएकाले सरकार सङ्कटमा नरहेको समेत बताएकी छन् । मन्त्री शर्माले भनिन्, ‘‘राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोडेर जानुभएको छ तर सरकारको समर्थन फिर्ता लिनुभएको छैन । त्यस कारणले सरकार सङ्कटमा भन्ने स्थिति देखिँदैन । ’’

प्रधानमन्त्री प्रचण्डले गठबन्धनलाई बचाउनको निम्ति आफू तत्पर रहेको बताउँदै आएका छन् । मन्त्री शर्माले सरकार सञ्चालनको लागि बनेको उच्चस्तरीय राजनीतिक संयन्त्रबाट समस्याको हल खोजिनुपर्ने बताएकी छन् ।

संयन्त्रको संयोजकमा एमाले अध्यक्ष केपी शर्मा ओली रहेका छन् । ओलीले गृह मन्त्रालय रास्वपा सभापति रवि लामिछानेलाई दिने बताउँदै आएका थिए । मन्त्री शर्माले भनिन्, ‘‘त्यो राजनीतिक विषय भएकाले गठबन्धन सञ्चालन संयन्त्रका विषयमा छलफल गरेर राजनीतिक ढङ्गले नै समाधान गर्नुपर्छ ।’

मन्त्रालय बाँडफाँडमा रास्वपाले तीन मन्त्रालय र राज्यमन्त्री पाएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा शिशिर खनाल र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा तोसिमा कार्की रहेका थिए। रवि लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।

नागरिकता विवादमा परेपछि सर्वोच्च अदालतले सांसदबाट हटाएसँगै रविले राजीनामा दिएका थिए । गत आइतबार उनले पुनः नागरिकता प्राप्ति गरे पनि गृह मन्त्रालय नपाएपछि सोही झ्वाँकमा रास्वपाले सरकार नै छाडेको हो ।

यता मन्त्रीले भनिन्,’ प्रधानमन्त्रीज्यूले बाहिर सार्वजनिक रूपमा पनि बोल्नुभएको छ कि हामी यो गठबन्धनलाई बचाउनको निम्ति र उनहरूलाई पनि फेरि सरकारमा सहभागी गराउनको निम्ति प्रयत्नशील छौँ ।’

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्