सभामुखका लागि दौड सुरु

होस्ट खबर २९ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : प्रतिनिधिसभाको सभामुखको निर्वाचनको मिति तोकेसँगै सभामुखमा उम्मेदवारी दिनका लागि एमालेका नेताहरूबीच दौडधुप सुरु भएको छ। आगामी माघ ५ गते हुने निर्वाचनका लागि माघ ४ गते उम्मेदावारी दिने समय तोक्ने गरी संसद सचिवालयले कार्यतालिका बनाउन लागेको छ। प्रतिनिधिसभामा बहुमत सांसदको समर्थनबाट सभामुखको निर्वाचन हुनेछ।

नयाँ गठबन्धनबाट एमालेलाई सभामुख दिने निर्णय भएकाले एमालेका नेता मध्येबाट एकजना सभामुखको उम्मेदवारी पर्ने छ। यसका लागि पार्टी अध्यक्ष केपी ओलीसँग उनीहरूले लबिङ गरिरहेका छन्।

सभामुखका लागि पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त, विद्या भट्टराई, छविलाल विश्वकर्मा र अन्य केही नेताहरूबाट दौडधुप सुरु भएको स्रोतले बताएको छ।

यसअघि गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका उपमहासचिव गुरुङलाई नयाँ सभामुख बनाउने चर्चा गरिए पनि जनजातिबाट अर्को सभामुखमा नपुगोस् भनेर नेम्वाङ लागेको आरोप एमालेका नेताहरूले लगाउन थालेका छन्।

पार्टीभित्रबाट सकारात्मक संकेत नपाएपछि गुरुङ पछि हटेको जनाउँदै सचिव विश्वकर्माको नाम पनि सभामुखमा चर्चामा छ। गुरुङलाई रोकेर नेम्वाङले विश्वकर्माको नाम अघि सारेपछि पार्टी महासचिव शंकर पोखरेलसहितका नेताले देवराज घिमिरेको नाम भावी सभामुखका रूपमा अघि सार्नसक्ने बताइएको छ। पार्टी अध्यक्ष ओलीले राष्ट्रपति र सभामुखको उमेदवारको एकैपटक निर्णय गर्ने तयारी गरेको स्रोतले बतायो।

माओवादी केन्द्रबाट प्रधानमन्त्री पाएपछि राष्ट्रपति र सभामुख एमालेले पाउने भएको छ। नागरिक दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्