नेपाली जनताले असाधारण सङ्कल्पको अपेक्षा गरेका छन्: प्रधानमन्त्री दाहाल

होस्ट खबर २५ पुष २०७९, सोमबार
3 Min Read
Aa

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताले हामीबाट असाधारण सङ्कल्पको अपेक्षा गरेको बताएका छन् ।

“यो संसद् हाम्रो परीक्षाको केन्द्र पनि हो । परम्परागत अभ्यास र राजनीतिले मात्रै जनतामा जानसक्ने अवस्थामा छैनौँ । हामीले बिर्सनु हुँदैन, हामी निरन्तर जनताको निगरानीमा छौँ”, प्रधानमन्त्रीले भने, “मलाई विश्वास छ, हामी प्रतिक्रिया होइन, क्रियाको राजनीति गर्ने छौ । हामी साझा राजनीतिक लक्ष्यका साथ एक ठाउँमा उभिने छौँ ।”

प्रतिनिधिसभाको पहिलो बैठकलाई आज लिखित सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जनताका अपेक्षा, गुनासा चासो र चिन्तालाई नजिकबाट देखेकाले समस्या केलाएर बस्ने छुट नभएको बताए । उनले भने, “हामीलाई समस्या केलाएर बस्ने छुट छैन, समाधानको सूत्र खोज्नुपर्नेछ । समाधानतर्फ अगाडि बढ्नुपर्नेछ ।”

प्रतिनिधिसभामा लैङ्गिक, जातीय, धार्मिक, क्षेत्रीय प्रतिनिधित्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यसले राष्ट्रको सच्चा प्रतिनिधित्व गरेको बताए । प्रधानमन्त्री दाहालले फरक फरक राजनीतिक पृष्ठभूमिबाट आएको भए पनि जनतासँग गरेको सुशासन र समृद्धिको प्रतिबद्धता भने साझा रहेको उल्लेख गरे ।

यसपटक प्रतिनिधिसभामा नयाँ दलको प्रवेश भएको स्पष्ट पार्दै उनले भने, “संसद्मा नयाँ अनुहार थपिएका छन् । बिना कुनै इष्र्या म मनैदेखि भन्न चाहन्छु, तपाईंहरुको प्रवेश लोकतन्त्र र नागरिक सम्प्रभूताको जीत हो । तपाईंहरुमा पक्कै एउटा आवेग र केही गरी छाड्ने हुटहुटी छ । त्यो हुटहुटी नयाँ संसद्को पुँजी हो ।”

उनले संसद्को शपथ ग्रहणका क्रममा देखिएको विविधताले नै गर्वको महसुस गराएको स्मरण गरे । उनले नयाँ दल र अनुहारको आवेग रचनात्मक हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री दाहालले भने, “तपाईहरुलाई स्वागत छ ।” उनले यो संसद्को अर्जुनदृष्टि सुशासन र समृद्धि हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री दाहालले भने, “केही हुँदैन भन्ने हिन भावनाका ठाउँमा गरे के हुँदैन भन्ने उत्साह जगाउनुछ ।”

प्रधानमन्त्री दाहालले राजनीतिलाई भावना र उत्तेजनाभन्दा पर आर्थिक समृद्धिको महाअभियानमा केन्द्रित गर्नु तथा विभेद बहिष्करणलाई अस्वीकार गर्दै राष्ट्रिय एकता बलियो बनाउनुपर्नेमा जोड दिए ।

“आर्थिक क्रान्तिको साझा सङ्कल्प गर्दै समृद्ध र न्यायपूर्ण राष्ट्र निर्माण गर्नुछ”, उनले भने । प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा सार्थक संवादको थलो बन्ने आशा व्यक्त गरे । उनले भने, “हाम्रा अभ्यासमा जनताले गौरव गर्ने वातावरण बन्नेछ । त्यो सङ्कल्प हामी सबैले लिनुपरेको छ ।” उनले राष्ट्रका आवश्यकताका बारेमा विवेकपूर्ण निर्णय लिनसक्ने अपेक्षा गरे । प्रधानमन्त्री दाहालले जोड दिएर भने, “सहमति मात्रै होइन, हाम्रा मतभेदमा पनि मर्यादापूर्ण हुनेछन् । कम्तीमा पनि मेरो प्रयास र अपेक्षा यसैमा केन्द्रित हुनेछ ।” प्रधानमन्त्री दाहालले नयाँ संसद् नयाँ भाष्य स्थापना गर्न सफल हुने विश्वास व्यक्त गरे । रासस

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्