सत्ता गठबन्धनले टुंगायो मुख्यमन्त्रीको सकस

होस्ट खबर २५ पुष २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं : सत्तागठबन्धनले सातवटै प्रदेशमा मुख्यमन्त्रीको भागबन्डा टुंगाएको छ । प्रदेशहरूमा मुख्यमन्त्री को बन्ने भन्नेबोमा देखिएको विवाद अन्ततः भागबन्डा गर्दै टुंगिएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमाले चार, माओवादी केन्द्र दुई र मधेस प्रदेशमा जनता समाजवादी पार्टी एवं जनमत पार्टीबीच मुख्यमन्त्री आलोपालो गर्ने सहमति गरेको हो ।

सहमतिनुसार एमालेले प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पाउने भएको छ । जसअनुसार प्रदेश १ मा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।

बाग्मती प्रदेश र कर्णालीमा एमाले र माओवादीले आधा–आधा कार्यकाल नेतृत्व गर्ने सहमति भएको छ । सुदूरपश्चिममा पहिलो चरणमा एमाले र दोस्रो चरणमा माओवादीले पाउनेछ ।

बाग्मतीमा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल, गण्डकीमा एमालेका खगराज अधिकारी, लुम्बिनीमा एमालेका लिला गिरी, कर्णालीमा माओवादीका राजकुमार शर्मा र सुदूरपश्चिममा एमालेका राजेन्द्रबहादुर रावल संसदीय दलको नेता छन् ।

बाग्मती प्रदेशमा एमालेका जगन्नाथ थपलिया, कर्णालीमा एमालेका यमलाल कँडेल र सुदूरपश्चिममा माओवादी केन्द्रका खगराज भट्ट संसदीय दलका नेता छन् ।

अब उनीहरूबाटै ती प्रदेशमा मुख्यमन्त्री चुनिनेछन् । त्यसैगरी मधेस प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो नेतृत्व गर्ने सहमति भएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्