राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे निर्वाचन आयोग नै अन्योलमा

होस्ट खबर १८ पुष २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं : संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पदावधि सकिनुभन्दा एक महिनाअघि नै गर्नुपर्ने व्यवस्था उल्लेख भए पनि नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको शपथ पुरानै राष्ट्रपति र उपराष्ट्रपति पदमा बहाल रहँदा नै कसरी गर्ने भन्ने स्पष्ट व्यवस्था नहुँदा निर्वाचन आयोग अन्योलमा परेको हो । सोही विषयलाई प्रस्ट बनाएर निर्वाचनको मिति तय गर्ने आयोगको तयारी छ ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे संविधानमा उल्लेख भए पनि शपथबारे अन्योल भएकाले छलफलबाटै निर्णय लिने बताए ।

‘संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पदावधि सकिनुभन्दा एक महिनाअघि भन्ने व्यवस्था भयो तर नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको शपथ कहिले भन्ने व्यवस्था भएन, अन्योल भएका विषयलाई प्रस्ट पारेर समयभित्रै निर्वाचन गर्ने गरी छलफल गरेरै अघि बढ्छौं,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी २९ फागुनमा सकिँदै छ । यस्तै, उपराष्टपतिको पदावधि ९ चैतमा सकिनेछ । संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल पाँच वर्ष तोकिएको छ । सो व्यवस्थाअनुसार निर्वाचन आयोगले २९ माघभित्र राष्ट्रपति र ९ फागुनभित्र उपराष्टपतिको निर्वाचन सम्पन्न गरिसक्नुपर्छ ।

आयोगले संविधानमा नै राष्ट्रपति र उपराष्ट्रपतिको पदावधि पाँच वर्ष तोकिएकाले पदावधि कायम रहँदा नै नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको शपथका विषयमा अन्योलता देखेको हो ।

सो विषयमा आयोगले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने तयारी गरेको छ । आयोगले त्यसका लागि प्रधानमन्त्रीको सचिवालयसँग समय पनि मागिसकेको छ । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्