मिसनमा जान अब सशस्त्र कर्मचारीले १५ वर्ष सेवा गर्नैपर्ने

होस्ट खबर १३ पुष २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौं : संयुक्त राष्ट्रसंघीय शान्ति मिसन फम्र्ड पुलिस युनिट (एफपीयू)का रूपमा खटिने सशस्त्र प्रहरी कर्मचारीले अब कम्तीमा १५ वर्ष सेवा अवधि पूरा गरेको हुनुपर्ने मापदण्ड निर्धारण गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपालले मिसनका लागि छनोट प्रक्रिया थप निष्पक्ष र पारदर्शी बनाउने उद्देश्यले संशोधित ‘यूएनएफपीयू मिसन छनोट निर्देशिका–२०७९’मा यो व्यवस्था लागू गरेको हो । यसबाट लामो समय सेवाअवधि पूरा गरी मिसनमा अवसर नपाएका कर्मचारी बढी लभान्वित हुने सशस्त्र मुख्यालयको विश्वास छ ।

यसअघि, ‘यूएनएफपीयू मिसन छनोट निर्देशिका–२०७१’अनुसार न्यूनत्तम पाँच वर्ष सेवा अवधि पूरा गरेका सशस्त्र प्रहरी कर्मचारीसमेत मिसनमा सहभागी हुँदै आएका थिए । पहिले सेवामा प्रवेश गरेकाले ‘यसप्रकारका अवसर पाउनुपर्छ’ भन्ने उद्देश्य र देशभरका एकाइमा कार्यरत कर्मचारीबाट प्राप्त सुझावअनुसार निर्देशिका परिमार्जन गरिएको सशस्त्र मुख्यालयले जनाएको छ ।

त्यस्तै, सशस्त्र प्रहरी कर्मचारीले हालै लागू ‘बडी मास इन्डेक्स’ (बीएमआई)का आधारमा स्वास्थ्य वर्गीकरणसम्बन्धी कार्यविधि, २०७९ अनुसारको मापदण्डमा समेत अनिवार्य उत्तीर्ण हुनुपर्नेछ । जसअन्तर्गत उचाइअनुसारको तौल नभएका अति दुब्ला र अति मोटा कर्मचारी यो अवसरबाट वञ्चित हुनुपर्नेछ ।

समान मितिमा भर्ना तथा पदोन्नत्ति भएका कर्मचारीका हकमा अभिलेखमा उल्लेखित भर्ना तथा पदोन्नतिको ज्येष्ठता क्रमअनुसार छनोट प्रावधान राखिएको छ ।

मापदण्ड पूरा भई विभागीय कारबाही भएको भए कारबाही नभएका कर्मचारीलाई पहिलो प्राथमिकतामा राखी छनोट गरिने तर पछिल्लो भर्ना तथा पदोन्नति मिति भएका कर्मचारीसँग छनोट गर्नुपर्ने भएमा यो प्रावधान लागू गरिनेछैन ।

आचरणविपरीत क्रियाकलाप गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशिकामा तोकिएको अवधिसम्म मिसन छनोटबाट वञ्चित गरिने भएको छ । जसअनुसार एकपटक मात्र विभागीय सजाय पाएकाको हकमा सजाय फुकुवा भएको मितिले एक वर्ष पूरा भएको हुनुपर्ने र दुई वा सोभन्दा बढी सजाय पाएका कर्मचारीको हकमा सात वर्ष पूरा भएको हुनुपर्नेछ ।

साथै, पदको ज्येष्ठतामा पर्नका लागि बढुवा फारम नभर्ने कर्मचारीलाई तीन वर्षसम्म सो अवसरबाट वञ्चित गरिने भएको छ । यसअघि बढुवा फारम नबुझाई सिनियर हुने र मिसन जान खोज्ने प्रवृत्ति देखिएको थियो । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्