दुई पार्टी सरकारबाहिर

होस्ट खबर १२ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने भएका छन्। सरकार गठनमा सहयोग गरेका यी दुवै दलले सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाहिर रहेर समर्थन गर्ने घोषणा गरेका हुन्। जनता समाजवादी पार्टीले सरकारमा जाने वा नजाने भन्नेमा अझैसम्म निर्णय गरेको छैन।

सर्वदलीय बैठकका लागि सोमबार संसद् भवन नयाँबानेश्वर पुग्नुभएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले सरकारमा नजाने तर समर्थन गर्ने बताए। प्रतिनिधि सभामा राप्रपाका प्रत्यक्षमा सात र समानुपातिकमा सात स्थान प्राप्त गरेको छ। नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभामा चार जना सांसद छन्।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदले नयाँ प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन गरेका छन्।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले राजनीतिक माग पूरा नभएसम्म आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताईन्। गोरखापत्र दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्