१८ मन्त्रालय प्रचण्डकै हातमा, पाँच नयाँ अनुहार

होस्ट खबर १२ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं : नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् पहिलो चरणमा प्रधानमन्त्रीसहित आठ सदस्सीय बनेको छ । प्रधानमन्त्रीका रूपमा सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

सोमबार नै पहिलो चरणमा मन्त्रिपरिषद्लाई प्रधानमन्त्रीसहित आठ सदस्सीय बनाइएको हो । सरकारमा प्रचण्डलाई तत्काल सात मन्त्रीको साथ हुने छ । प्रधानमन्त्री प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएसँगै सरकारमा तीन जना उपप्रधानमन्त्रीसहितका अन्य मन्त्रीलाई पनि राष्ट्रपति भण्डारीले पद तथा गोपनीयताको सपथ गराएकी हुन् ।

उपप्रधानमन्त्रीसहितको जिम्मेवारी पाउनेमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात र लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

मन्त्री नियुक्त एमालेका ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई तथा जनमत पार्टीका अब्दुल खानको मन्त्रालय तोकिन बाँकी छ । उपप्रधानमन्त्री बनेका लामिछानेसहित पाँच जना सरकारमा नयाँ अनुहार हुन् । तीन उपप्रधानमन्त्रीमध्ये पौडेल र श्रेष्ठले यसअघि पनि सरकारमा उपप्रधानमन्त्री भएर काम गरिसकेका छन् ।

सरकारमा प्रधानमन्त्रीपछिको वरीयतामा उपप्रधानमन्त्री पौडेल छन् । त्यसपछि उपप्रधानमन्त्री श्रेष्ठ र लामिछानेको वरीयता निर्धारण भएको छ । सरकार विस्तार नहुँदासम्म प्रधानमन्त्री प्रचण्डको जिम्मामा १८ मन्त्रालय परेको छ । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array