कर्णालीका नवनिर्वाचित सांसदको शपथ आज

होस्ट खबर ११ पुष २०७९, सोमबार
1 Min Read
Aa

सुर्खेत : कर्णालीका नवनिर्वाचित प्रदेशसभा सदस्यहरूले आज (सोमबार) शपथ खाँदै छन् । गत मंसिर ४ मा सम्पन्न प्रदेशसभा निर्वाचन अन्तर्गत प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएर आएका सांसदले आज शपथ खान लागेका हुन् ।

उनीहरूलाई जेष्ठ सदस्यका हैसियतले नेकपा एमालेका विनोदकुमार शाहले शपथ खुवाउने छन् । प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेशसभामा सभामुख र उपसभामुखको निर्वाचित नहुञ्जेल ज्येष्ठ सदस्यले शपथ खुवाउने तथा प्रदेशसभा बैठक सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

दैलेख क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित शाह एमाले कर्णाली प्रदेश अध्यक्षसमेत हुन् । ६६ वर्षीय शाहलाई भने प्रदेश प्रमुखले शपथ खुवाउने छन् । प्रदेशसभा सचिवालयका अनुसार बिहान ११ बजे शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएपछि दिउँसो ३ बजे सांसदहरूको शपथ हुनेछ ।

प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार शपथका लागि सांसदहरूले निर्वाचन आयोगबाट प्राप्त प्रदेशसभा सदस्यको प्रमाणपत्र (सक्कल र सोको प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एवम् हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रतिसहित दिउँसो १ बजे राष्ट्रिय पोशाक वा आ(आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकसहित उपस्थित हुन भनिएको छ । यस्तै प्रदेशसभा सदस्यले आफ्नो मातृभाषामा पनि शपथ लिने व्यवस्था मिलाइएको बुढाथोकीले बताए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array