दलहरुबीच आज सहमति नभए के हुन्छ ?

होस्ट खबर १० पुष २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं : नयाँ सरकार गठनका लागि दलहरूलाई राष्ट्रपतिले दिएको समय सीमा आज सकिँदैछ । संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ५ बजेसम्मको समय दलहरूलाई दिएकी थिइन् ।

त्यसअनुसार दलहरूसँग कि आज सहमति गरिसक्नुपर्ने वा राष्ट्रपति समक्ष समय थप माग्नुपर्ने दुई विकल्प छन् । यी दुवै नभए राष्ट्रपति कार्यालयबाट अपराह्न ५ बजेपछि अर्को विज्ञप्ति जारी हुनेछ । संविधानको ७६ को उपधारा १ अनुसार कुनै पनि दलको बहुमत नभएको हुँदा उपधारा २ अनुसार पनि सरकार बनाउन नसके उपधारा ३ अनुसार सरकार बन्न सक्छ ।

उपधारा ३ मा प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने उल्लेख छ ।

यो उपधारामा टेक्दा शेरबहादुर देउवा प्रधानमन्त्री हुने छन् । उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । राष्ट्रपतिले दिएको समय अझै १० घण्टा बाँकी रहेको हुँदा दलहरूबीच सहमतिको अपेक्षा गरिएको छ । नयाँ सरकार बनाउन १३८ सांसद आवश्यक पर्छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्