पुष २३ देखि ‘सुर्खेत ए डिभिजन कप’ शुरु हुने

होस्ट खबर ९ पुष २०७९, शनिबार
2 Min Read
Aa

सुर्खेत: जिल्लामा आगामी पुष २३ देखि सुर्खेत ए डिभिजन फुटबल कप प्रतियोगिता आयोजना हुने भएको छ । जिल्ला फुटबल संघ सुर्खेतको आयोजनामा प्रतियोगिता हुने भएको हो ।

चैतमा हुने जिल्ला लिगको तयारीका लागि पनि सहयोग हुने भएकाले प्रतियोगिता आयोजना गर्न लागेको संघका अध्यक्ष रबिन्द्र जङ चन्दले बताए । १२ टीमको सहभागिता हुने र २०७८ को जिल्ला लिगमा पनि १२ टीम सहभागी भएकाले उनीहरुको नै यसमा सहभागी हुने अध्यक्ष चन्दले बताए ।

प्रतियोगितामा सहभागी खेलाडीको इन्स्योरेन्स (एक्सिडेन्टल) अनिवार्य गरिएको संघका सचिव सुनिल देवकोटाले बताए । यसका बारेमा आवश्यक प्रक्रिया पुरा शुरु गरिएकाले सो पुरा भएपछि मात्र थाहा हुने उनको भनाई छ । प्रतियोगिताको बारेमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिंदै अध्यक्ष चन्दले प्रतियोगिताका लागि चिसापानी र सैनिक महाविद्यालय सुर्खेतको मैदानलाई छनौट गरिएको बताइएको छ ।

पुस ३० सम्म हुने खेलका बारेमा जानकारी दिंदै संघका उपाध्यक्ष ललित शाहीले संघले पहिलोपटक आफ्नै आर्थिक श्रोतबाट प्रतियोगिता संचालन गरिन लागेको बताए । प्रतियोगितामा पहिलो हुने टीमले १ लाख, दोश्रोले ५० हजार, म्यान अफ द म्याचका लागि १ हजार, बेष्ट प्लेयर ५ हजार नगद पाउने बताइएको छ ।

प्रतियोगितामा एबीसी स्पोर्ट्स क्लब, फ्रेन्डसीप क्लब, ब्वाइज युनियन, वीरेन्द्रनगर स्पोर्ट्स क्लब, शृजनशील युथ क्लब, शिरमोर युथ क्लब, काँक्रेबिहार क्लब, बाबियाचौर स्पोर्ट्स क्लब, जीवनज्योती युथ क्लब, स्काई युथ क्लब, जिअल क्लब, भैरबी युथ क्लब लगायत टीमको सहभागिता रहने छ । प्रतियोगिताका लागि सुरक्षा ब्यवस्थापनमा उचित ध्यान दिइएको आयोजकले बताएको छ । सहभागी टीमलाइ संघका उपाध्यक्ष दर्शन थापले फुटबल प्रदान गरे ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्