कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु

होस्ट खबर ६ पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं : सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहान ८ः४५ बजेदेखि मतदान सुरु भएको हो ।

संसदीय दलको नेतामा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन् । मतदानमा सहभागी हुन पार्टीका प्रतिनिधिसभा सदस्य विहान ८ बजे सिंहदरबार प्रवेश गरिसकेका छन् ।

कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले मतदान समाप्त भएपश्चात आजै मतगणना र निर्वाचन परिणामको घोषणा हुने जनाएको छ ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको थियो । समितिले मतदान गर्न आउँदा मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र साथमा लिई आउनुपर्ने जनाएको छ ।

सभापति देउवाको उम्मेदवारीको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक पार्टी उपसभापति पूर्णबहादुर खड्का रहेका छन् । यसैगरी, महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावक नेता डा. शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहेका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array