सत्ता गठबन्धनमा ‘पावर सेयरिङ’को खाका बनाइने

होस्ट खबर २० मंसिर २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं : सत्तारूढ गठबन्धनभित्र आगामी पाँच वर्षको हिसाबकिताबसहित पावर सेयरिङ विषयले औपचारिक प्रवेश पाएको छ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फको मतगणना सकिएलगत्तै सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको पहिलो बैठकले सरकारमा गठबन्धनकै निरन्तरता हुने निर्णय गरेको हो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेता सहभागी बैठकमा ‘अबको यात्रा खाका बनाएर प्याकेजमै अघि बढाउने निर्णय भएको’ बैठकमा सहभागी नेकपा एकीकृत समाजवादी महासचिव वेदुराम भुसालले जानकारी दिए ।

‘सरकार गठनको कुरा मात्रै होइन, यो गठन्बधनको आवश्यकता र औचित्य सकिएको छैन भन्ने मुख्य निष्कर्ष बैठकको छ, सरकार बनाएर केके गर्ने भन्ने विषयमा पनि बैठकमा कुरा उठेको छ, कार्ययोजना बनाएरै अघि बढ्ने निष्कर्ष बैठकको हो,’ नेकपा एकीकृत समाजवादीका महासचिव भुसालले भने ।

बैठकमा सहभागी अर्का नेताका अनुसार प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश सरकारसहितका विषयमा प्याकेजमा नै सहमति गरेर अघि बढ्ने विषयमा पनि औपचारिक छलफल सुरु भएको छ ।

‘पहिले निर्वाचनको सबै परिणाम आओस्, निर्वाचन आयोगले परिणाम राष्ट्रपतिसमक्ष बुझाओस्, त्यसपछि दलको नेताचयन गर्ने प्रक्रियाअघि बढ्छ र दलको आन्तरिक काम सकिएपछि प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश सरकारसहितका विषयमा प्याकेजमा नै खाका बनाएरै गठबन्धन अघि बढ्छ,’ बैठकमा सहभागी ती नेताले भने ।

बैठकमा नयाँ सरकार गठन तथा नेतृत्व – प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख तथा सातै प्रदेशको प्रदेश सरकार सम्मको नेतृत्वका विषयमा औपचारिक छलफल भएको हो ।

अब प्रतिनिधि सभातर्फ दलले प्राप्त गरेको परिणामअनुसार संसद्मा कुनै पनि दलको एकल बहुमत नपुग्ने पक्का भएपछि बहुमतीय आधारमा सरकार गठनको प्रक्रियाअघि बढ्ने आजको राजधानी दैनिकमा खवर छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array