सत्ता गठबन्धनलाई प्रत्यक्षमा बहुमत

होस्ट खबर ११ मंसिर २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुग्दै गर्दा सत्ता साझेदार पाँचदलीय गठबन्धनले ५० प्रतिशतभन्दा बढी सिटमा विजयी हासिल गरेको छ ।

नयाँ राजनीतिक दलको उदयले प्रभाव क्षेत्रमै प्रमुख दलहरू पराजित भए पनि पाँचदलीय गठबन्धनले सरकार गठबन्धनका लागि सुविधाजनक बहुमत प्राप्त गरेको हो ।

निर्वाचन परिणामअनुसार नेपाली कांग्रेस प्रतिनिधि सभा र प्रदेश सभामा पहिलो दल भएको छ । अपेक्षाकृत नतिजा हासिल गर्न नसके पनि प्रतिनिधि सभातर्फ १५२ निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक हुँदा बहुमत सिटमा सत्ता साझेदार दलहरूको गठबन्धनले जित हासिल गरेको छ ।

सत्ता गठबन्धन ८३ सिटमा विजयी भएको छ । सात स्थानमा गठबन्धनका उम्मेदवारको अग्रता कायम छ । प्रतिनिधि सभाका तीन सिटमध्ये दोलखा र स्याङ्जा क्षेत्र नं २ मा मतगणना सुरु भएको छैन । बाजुरामा शनिबार पुनः मतदान भएको छ ।

प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेस ५२ स्थानमा विजयी भएको छ । गणना जारी रहेकामध्ये चार सिटमा कांग्रेसले अग्रता लिएको छ । दोस्रो स्थानमा रहेको नेकपा (एमाले)ले शनिबार रातिसम्ममा ४० सिट जितेको छ । दुई सिटमा एमालेको अग्रता छ ।

नेकपा (माओवादी केन्द्र)ले १७ सिट जित्दा अरू एक स्थानमा अग्रता लिइरहेको छ । त्यसैगरी नेकपा (एकीकृत समाजवादी) प्रत्यक्षतर्फ १० सिट जित्दै चौथो स्थानमा रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सात सिटमा जित र एक स्थानमा अग्रता लिइरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सात स्थानमा जित हासिल गरेको छ ।

जनता समाजवादी पार्टी नेपालले पाँच सिट जितेको छ । जसपाले एक सिटमा अग्रता लिइरहेको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले चार सिट जितेको छ । नागरिक उन्मुक्ति पार्टीले तीन, राष्ट्रिय जनमोर्चाले एक, नेपाल मजदुर किसान पार्टीले एक, जनमत पार्टीले एक सिट जितेको छ । पाँच जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । गोरखापत्र दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्