मतदानमा हस्तक्षेप भए बल प्रयोगको अधिकार

होस्ट खबर ३ मंसिर २०७९, शनिबार
3 Min Read
Aa

काठमाडौं : सरकार र निर्वाचन आयोगले आइतबार हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगले ढुक्क भएर मताधिकार प्रयोग गर्न मतदातालाई आग्रह पनि गरेको छ।

एकै चरणमा हुन लागेको संघ–प्रदेशको चुनाव गराउन निर्वाचन सामग्रीसहित २ लाख ४६ हजार ९६० कर्मचारी मतदानस्थल पुगिसकेका छन्। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी करिब ३ लाख जनशक्ति परिचालन गरिएको छ। मतदानका लागि खटिएका कर्मचारीले आवश्यक प्रबन्ध शनिबारसम्म मिलाइसक्ने निर्वाचन आयोगले जनाएको छ।

गृहमन्त्री बालकृष्ण खाणले पनि निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन सरकारले आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकेको जनाएका छन्। उनले ढुक्क भएर मताधिकार प्रयोग गर्न पनि सबैलाई आग्रह गरेका छन्।

सरकारले विगतमा मतदान केन्द्रमा भएका हस्तक्षेप तथा मतपेटिका लुटपाटका घटनाबाट पाठ सिक्दै यसपटक मतदान प्रक्रिया र मतपेटिका लुटपाटका प्रयास भए सुरक्षा निकायलाई गोली हान्नेसम्मको अधिकार दिएको छ। निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्था हुनेछ।

कुनै मतदान केन्द्रमा विवाद भए १० मिनेटभित्रमा पुग्न सक्ने गरी प्रहरीको रिजर्भ फोर्सको पनि व्यवस्था गरिएको छ भने आधा घन्टाभित्र नेपाली सेनासमेत पुग्ने गरी अस्थायी ‘अपरेटिङ बेस’ स्थापना गरिएको छ।

नेपाल प्रहरीले सुरक्षा जोखिमका आधारमा उपत्यकामा नेपाल प्रहरीका तर्फबाट प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा, तराईमा प्रहरी नायब उपरीक्षक (डिएसपी) तथा पहाडमा प्रहरी निरीक्षकको नेतृत्वमा गस्ती टोली परिचालन गरिरहेको र हिमाली क्षेत्रमा हेलिकोप्टरमार्फत सेनाबाट गस्ती भइरहेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले जानकारी दिए। ‘चारदेखि पाँच निर्वाचन केन्द्रलाई समेट्ने गरी सेक्टरअनुसार पोसाक तथा सादा पोसाकका प्रहरी गस्ती टोली परिचालन भइरहेको छ,’ उनले भने।

कुनै ठाउँमा सुरक्षा जोखिम देखिए १०० नम्बरमा सम्पर्क गरेको खण्डमा पनि तत्कालै सुरक्षाकर्मी सम्बन्धित ठाउँसम्म पुग्नेगरी व्यवस्था मिलाइएको प्रवक्ता राईले बताए ।

निर्वाचन सुरक्षाका लागि हरेक जिल्लामा निर्वाचन जिल्ला समितिअन्तर्गत प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को नेतृत्वमा चारैवटा सुरक्षा निकायलाई परिचालन गरिएको छ। निर्वाचनका दिनमा हरेक मतदान केन्द्रको सुरक्षाका लागि नेपाल प्रहरीलाई पहिलो घेरामा परिचालन गरिनेछ। नेपाल प्रहरीले मतदाताको सुरक्षाका लागि उनीहरू हिँड्ने बाटोमा पनि गस्ती गर्नेछ। त्यसका अलावा सिभिल पोसाकका प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी पनि खटिनेछन्। साथै मतदानलाई व्यवस्थित बनाउन म्यादी प्रहरी पनि परिचालित हुनेछ । मतदान केन्द्रमा विवाद वा हिंसाको अवस्था भए सुरुमा नेपाल प्रहरीले त्यसलाई सामान्य बनाउन प्रयास गर्नेछ।

प्रहरीको एक्लो प्रयासबाट विवाद समाधान नभई बल प्रयोग गर्नुपर्ने अवस्थामा सशस्त्र प्रहरी र नेपाली सेनाको ‘रिजर्भ फोर्स’ पनि परिचालन हुनेछ। मतदान प्रक्रिया सम्पन्न भइसकेपछि प्रहरीको सुरक्षामा जिल्ला प्रशासन कार्यालयले मतपेटिकालाई क्षेत्रीय निर्वाचन कार्यालयमा लैजानेछ। नागरिक दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array