डोटीमा ६.६ म्याग्निच्युटको भूकम्प: ६ जनाको मृत्यु , पाँच घाइते

होस्ट खबर २३ कार्तिक २०७९, बुधबार
2 Min Read
Aa

दिपायल : बुधवार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युटको भूकम्पले डोटी केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण ६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

भूकम्पका कारण पूर्वीचौकी गाउँपालिकाका भौतिक संरचना भत्किँदा ६ जनाको मृत्यु भएको र ५ जना घाइते भएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन्।

डोटीलाई नै केन्द्रबिन्दु बनाएर मङ्गलवार साँझ पनि ५.७ र ४.१ म्याग्निच्युडका भूकम्प गएका थिए। भूकम्पको धक्का कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पनि महसुस गरिएको बताइएको छ।

इलाका प्रहरी कार्यालय साना गाउँका इन्चार्ज प्रहरी सहायक निरीक्षक नयनसिंह भाटका अनुसार पूर्वी चौकी गाउँपालिका ३ गैरा गाउँका ५० वर्षीय प्रेम बोहरा, १३ वर्षीया सीता बोहरा, ४० वर्षीया बगबती बोहरा, ८ वर्षीय हरक बोहरा, १४ वर्षीया धनसरी बोहरा र १४ वर्षीया तुल्सी बोहरा रहेका छन् ।

सोही ठाउँका इन्नरी देवी बोहरा, धौली बोहरा, किस्ना बोहरा, साना बोहरा र महावीर बोहरा घाइते भएको प्रहरी सहायक निरीक्षक भाटले जानकारी दिए । भूकम्पले सो गाउँका ८ घरमा पूर्ण रूपमा क्षति गरेको जानकारी आएको छ ।

घाइतेको उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोला भट्टले जानकारी दिए । थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीय सहितको टोलीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array