भोलि चन्द्रग्रहणः कुन राशिलाई कष्ट, कुन राशिलाई लाभ ?

होस्ट खबर २१ कार्तिक २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं : भोली मंगलबार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । मंगलबार बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रोदय हुँदादेखि नै ग्रहण लाग्नेछ । बेलुकी ५ बजेर १३ मिनेटमा सूर्यास्त भएपछि ग्रहण स्पष्ट रूपमा देखिनेछ ।

नेपाल पञ्चांग निर्णायक विकास समितिले बेलुकी ५ बजेर २७ मिनेटमा ग्रहणको सुरु हुने जनाएको छ । यस्तै, बेलुकी ६ बजेर ३४ मिनेटमा ग्रहण सकिने भएको छ । १ घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिनेछ ।

चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो ।

नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार, मंगलबार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अति कष्टदायक हुने देखिएको छ ।

चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चांग’मा उल्लेख छ ।

यसैगरी तुला राशिलाई स्त्रीपीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि ‘राष्ट्रिय पञ्चांग’मा उल्लेख छ ।

धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमका अनुसार, चन्द्रग्रहणको ९ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख छ । जसअनुसार मंगलबार बिहान ८ बजेर ११ देखि बाल, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेध गरिएको छ । बेलुकी ६ बजेर ३४ मिनेटमा ग्रहण सकिएपछि मात्र भोजन गर्न हुनेछ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।

यसअघि ८ कात्तिकमा कृष्ण औंसीका दिन सूर्यग्रहण लागेको थियो । यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लाग्ने समितिले जनाएको छ । औंसीमा सूर्यग्रहण र पूर्णिमामा चन्द्रग्रहण लाग्छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array