आज ठूलो एकादशी, तुलसीको विवाह गरी मनाइँदै

होस्ट खबर १८ कार्तिक २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौं : आज ठूलो एकादशी अर्थात् हरिबोधनी एकादशी । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ ।

असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका भगवान विष्णु आज ब्यूँतिने विश्वासमा यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुभक्तहरुले तुलसीको व्रत गरी पूजा गर्दछन् ।

हरिशयनी एकादशीका दिन घर घर रहेका मठमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा यस दिन गाईको गोबर र रातो माटोले पोती सिङ्गारेर फूल मालाले सजाएर तुलसी बिवाह गर्ने परम्परा पनि छ । तुलसी वैज्ञानिक रूपमा पनि अत्यन्त लाभदायक बनस्पती मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुने मानिन्छ ।

तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ । अन्न खान नहुने मान्यताका कारण यस दिन सखरखन्ड, पिँडालु र वन तरुल उसिनेर फलाहार खाने गरिन्छ ।

आजको दिन काठमाडौंको बुढानीलकण्ठका साथै उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचँगुनारायण र विशंखुनारायणलगायत देशभरका विष्णु मन्दिरहरुमा विशेष मेला लाग्छ ।

कसरी गर्ने तुलसी विवाह ?

एकादशीको साँझ तुलसीको विरुवाको गमलालाई गेरु आदिबाट सजाउनु पर्छ । त्यसपछि गमलाको चारैतिर मण्डप बनाएर त्यसमाथि दुलहीले लगाउने घुम्टी आकारको वस्त्र ९चुनरी० ओढाउनु पर्छ । गमलालाई साडीमा बेरेर तुलसीलाई चुरा लगाइदिएर श्रृंगार समेत गरिदिनु पर्छ ।

त्यसपछि भगवान गणेश आदि देवताहरुको तथा शालिग्रामको विधिवत रुपमा पूजा गरेर तुलसीलाई षोडशोपचार पूजा ‘तुलस्यै नमः’ मन्त्रमार्फत गर्नु पर्दछ । त्यसपछि एउटा नरिवल, दक्षिणाका साथ टीकाको रुपमा राख्नु पर्छ र भगवान शालिग्रामको मूर्तिको सिंहासन हातमा लिएर तुलसीको मोठलाई सात पटक परिक्रमना गराउनु पर्छ र आरती पश्चात विवाहोत्सव पूरा गर्नुपर्छ ।

तुलसी विवाहमा हिन्दू विवाह जस्तै गरी सबै कार्य सम्पन्न गरिन्छ । विवाहको समय मंगल गीत पनि गाइन्छ । श्रीहरि विष्णुलाई एक पत्र तुलसी समर्पित गर्नाले बैकुण्ठ लोक प्राप्त हुने धार्मिक मान्यता छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array