छठ पर्वको दोस्रो दिन आज खरना पर्व मनाउँदै

होस्ट खबर १२ कार्तिक २०७९, शनिबार
2 Min Read
Aa

काठमाडौं : तराईवासी नेपालीले ज्यादै महत्वका साथ मनाउने महान् छठपर्वको दोस्रो दिन आज खरना पर्व मनाउँदैछन् ।

पर्वको पहिलो दिन नहान–खान गरी शुद्ध भई व्रत बस्न सुरु गरेका व्रतालुहरुले दिनभरि भोकै बसेर बेलुकी दूध र सक्खरमा बनाइएको खिर तथा रोटी खाएर खर्ना गरेका छन्, जसलाई रसियाव रोटी पनि भनिन्छ । यस्तै तेश्रो दिन साँझ पख अस्ताउँदै गरेको सूर्य भगवानलाई अघ्र्य दिई सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो पर्व सम्पन्न हुनेछ ।

चर्मरोगको नाश तथा पारिवारिक सुख, समृद्धिका लागि छठी माताको आराधना गर्दै यो पर्व मनाइने गरिएको छ ।
नेपालको तराई क्षेत्र तथा उत्तरी भारतमा मनाइने छठपर्व धुमधामका साथ मनाइन्छ । निकै कठिन मानिने यो पर्वका चार दिनमध्ये दुई दिन छठ व्रतालुहरुले अन्न–पानी नखाई भोकै बसी व्रत गर्दछन् ।

तराई क्षेत्रको हरेक गाउँमा नदी, पोखरी, तलाउलगायतको जलाशयमा छठ पर्वका लागि छठ घाट सजाउने कार्य गरिएको छ । छठलाई हर्षोल्लासका साथ मनाउन बारा, पर्सा, रौतहट, मकवानपुर, सर्लाही, जनकपुरको विभिन्न स्थानलगायत तराई क्षेत्रको विभिन्न स्थानका पोखरी तथा नदीमा छठ घाट बनाउने र सजाउने कार्य भएका हुन् ।

कात्तिक महिनामा बढी खर्चमा रंगी–चंगी झकिझकाउ पारेर दुलही जस्तै सिंगारेर छठपूजा गरिन्छ । यता छठपर्वको अवसरमा मिथिला क्षेत्रका विभिन्न स्थानको बजारहरुमा छठ पूजासँग सम्बन्धित विभिन्न सामग्रीहरु खरिदारी गर्ने छठ व्रतालुहरुको अहिले पनि घुइँचो लागेको छ ।

छठ पूजाको प्रसादको रुपमा बनाइने ठेकुवा, खजुरी, रसियाव रोटीलगायतको पूजा सामग्री बनाउनका लागि चक्की मिलमा गहुँ पिधाउँने कामहरु व्रतालुहरुले गरिरहेका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array