सन्दीप लामिछाने विमानस्थलबाट पक्राउ

होस्ट खबर २० आश्विन २०७९, बिहीबार
2 Min Read
Aa
फोटो सौजन्य : RONB

काठमाडौँ : नाबालिग किशोरी बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको १ महिनापछि राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । कतारको दोहाबाट बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै विमानस्थल अध्यागमन कार्यालयले बिहीबार लामिछानेलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको हो ।

२०७९ भदौ २१ मा एक किशोरीले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । आफूलाई लामिछानेले भदौ ५ गते तिलगंगाको एक होटलमा बलात्कार गरेको भन्दै पीडितले दिएको जाहेरी प्रहरीले भदौ २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएकोमा भदौ २३ मा काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको थियो ।

प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार लामिछानेमाथि अनुसन्धान गरिरहेको छ । उनीविरुद्ध कसुर पुष्टि भए १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ । नेपालमा आफूविरुद्ध जाहेरी पर्दा भदौ तेस्रो साता लामिछाने वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा आवद्ध थिए ।

स्रोतका अनुसार सुरुमा किशोरीले साथीमार्फत लामिछानेसँग भेटेकी थिइन् । त्यसपछि लामिछानेसँग सामाजिक सञ्जालमार्फत कुराकानी र फोटो आदानप्रदान गरेकी थिइन् ।

संहिताको दफा २१९ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने’ उल्लेख छ । संहितामा १६ देखि १८ वर्ष उमेरको नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको पुष्टि भएमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array