बडा दशैंमा टिका लगाउदा टिका र आशिष (मन्त्र)को महत्व

होस्ट खबर १९ आश्विन २०७९, बुधबार
6 Min Read
Aa

सुर्खेत : दशैंमा आफुभन्दा ठूला मान्यजन र आफन्तबाट आर्शीर्वाद लिन निधारमा टिका थापिन्छ । यसरी मान्यजनले आशिष दिदै लगाइदिने टिकाको पनि निकै अर्थपूर्ण छ । मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाउने गरिन्छ । यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने पनि संकेत गर्छ । टिका जसलाई अक्षता पनि भनिन्छ । गाईको दुधको दही, चिनी, पिठोको रातो रंगमा मिश्रण गरिएको चामलको टिका निधारको मध्यभाग आज्ञा चक्रमा लगाइन्छ । यो दुबै आँखीभौंको माझमा हुन्छ । यसलाई तेस्रो नेत्र अर्थात तेस्रो आँखा भनिन्छ । आज्ञा चक्र स्पष्टता र बुद्धिको केन्द्र हो । यसले मानव र दैवी चेतनाको मध्य सीमा निर्धारण गर्छ । यसको अर्थ ठूलाबडा, मान्यजनले हामीलाई धन, बुद्धी, स्वास्थ्य सबैकुराले सर्वसम्पन्न बन्न प्रेरित गर्दै त्यसका निम्ति तेस्रो आँखा खुला राख भनेको रुपमा बुझ्नुपर्ने संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगको भनाई छ । टीकालाई चेतनासँग जोडेर पनि हेर्ने गरिन्छ ।

दशैंमा टिका लगाउदा पुरुषलाई दिने आशिषः

‘आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।’

मन्त्रको अर्थः
द्रोणपुत्र अस्वत्थामको जस्तो लामो आयु अर्थात दीर्घायु हुनु भन्ने हो । दशरथ राजाको जस्तो धनसम्पति होस् । भगवान रामको जस्तो शत्रु नाश होस् । नहुष राजाको जस्तो ऐश्वर्य होस् । पवनसुत हनुमानको जस्तो गतिशिलता होस् । दुर्योधनको जस्तो मान होस् । सूर्यपुत्र कर्णको जस्तो दानवीरता होस् । हलधर बलरामको जस्तो बल होस् । कुन्ती पुत्र युधिष्ठरको जस्तो सत्यवादिता बनुन् । विदुरको जस्तो ज्ञान होस् । भगवान नारायणको जस्तो कीर्ति वा प्रशिद्धि होस् । भन्दै मान्यजनवाट आशिर्वाद लिइन्छ । यी आर्शिवाद हेर्ने हो भने पनि विगतमा मानव सभ्यताका लागि हाम्रा पुष्ताले गरेका प्रयासहरू समेत दशैंमा जोडिएर आएको पाइन्छ ।

दशैमा टिका लगाउादा महिलालाई दिने आशिषः

‘जयन्ती मङ्गला काली भद्रकाली कपालिनी
दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।’

मन्त्रको अर्थः
जयंती देवीको जस्तै महेश्वरीको रूप र विजयशलिनी होस । मंगला देवीको जस्तो स्वतन्त्र ,मुक्ति देवीको रूपमा प्रसिद्दि होस् । काली देवी जसले सम्पूर्ण सृष्टिलाई आफूसँग समयमा लिने हुनु । भद्रकालीको जस्तै भद्र, खुशी, मंगल हुनू । कपालिनी देवीको जस्तो दुश्मनहरूका लागि भयानक हुनु । दुर्गाले जस्तै कर्म र उपासनाबाट दुर्गतिको नष्ट गर्नु । क्षमाकी देवीले जस्तै क्षमा दिनु । शिव देवी जस्तै कल्याणकारी र सर्वशक्तिमान हुनु । धातृ देवीले जस्तै सम्पूर्ण जीवको रक्षा गर्नु । स्वाहा देविले जस्तै हरेक यज्ञ र दानपुण्य गर्नु र स्वधा देवीले जस्तै मानवका हरेक यज्ञ दानपुण्य को संकल्प लिनु भन्ने हो ।’ यी मन्त्रलाई हेर्नेहो भने मानव सभ्यता विकासका लागि मानिसले खेल्नेपर्ने भूमिका बारे उपदेश दिइएको पाइन्छ ।

दशैंमा समुदाय अनुसार टिकाका प्रकारहरू

रातो टिका :

रातो टिका विजयको प्रतिकको रुपमा लगाईन्छ । दशैको दिन अपराजीता नाम गरेकी देविको पुजा गरिन्छ । मन भित्रको सत्रुलाई हराउने आस्थाले तथा सौन्दर्यको भावनाले रातो टिका लगाईन्छ । आफ्नो घरमा टीका लगाएर आफन्तजनहरुकोमा पनि टीका ग्रहण गर्ने चलन छ । टीका लगाउने काम पूर्णिमासम्म जारी रहन्छ र पूर्णिमादेखि एक पक्षको (पन्ध्र) दशैं चाडको अन्त्य हुन्छ ।

सेतो टिकाः

दशैमा थारू लगायतक केहि जनजातीले भने सेतो टिका लगाउने प्रचलन छ । परापूर्वकालमा रङ्गको उत्पादन नहुँदा पूर्खाहरूल सेतो रङ्गकै टिका लगाएका कारण पनि परम्परागत रुपमै सेतो टिका लगाउँदै आएका थारू संस्कृतिविद्हरुको भनाई छ । पसँगै लहसिए । त्यही रङ्गको प्रयोग गर्दै अहिलेसम्म सेतो टीका लगाउने प्रचलन कायमै रहेको मानिन्छ । प्रकृति र आदिमजातिको सम्बन्ध अटुट रहेको विश्वासका साथ सेतो टिका लगाउने परम्परा छ । देवीदेवताको पूजागर्दा र पहिरनमा समेत प्रमुख रङ सेतो कायम भएको मान्यता छ । सेतो रङ शान्तिको प्रतीक हो । थारु जाति शान्तिकामी जाती भएको र लडाई झगडा र छलछाममा विश्वास नगर्ने भएकाले प्राचीनकालदेखि थारु जातिले आफ्नो देवीदेवतालाई सेता जल अर्थात गाईको दुधले पूजागर्ने गरेको थारु संस्कृतिकर्मीहरुको भनाई पाइन्छ ।

कालो टिकाः

नेवारी समुदायमा केहिले दशैको टिकामा कालो टिका पनि लगाउने गर्दछन । पहेलो र रातो टिका लगाइपनि विशेष महत्व कालो टिकालाई दिने गरेका छन । कालो टिकालाई मोहनी टिका पनि भन्ने गरिन्छ । दशैं हिन्दुहरुले मनाउनु अघिनै नेवार समुदायले मनाउँदै आएको र कालखण्डसँगै सोहि दशैंलाई हिन्दुत्वकरण गर्दै दबावमा प्रतिकुल दशैं मनाउन बाध्य पारिएपछि अपदस्त नेवार राजा र रैतीले सँस्कृतिमा त्यहि बेला देखि विरोधको प्रतिक स्वरुप कालो टिका लगाएरमात्र दशैं मान्न थालेको संस्कृतिविद्हरुको भनाई छ । अन्य समुदायको भन्दा नेवार समुदायको दशैं विशेष प्रकारको रहने गरेको छ ।

दशैंमा दक्षिणा :

दशैंमा टीका थाप्न आएका छोरीचेली, ज्वाइँ, आफन्त आदिलाई दिइने द्रब्य नै दक्षिणा हो । बिजयादशमीको दिन आ–आफ्नो गच्छे अनुसार मान्यजनबाट टीका लगाइसकेपछी दक्षिणा दिने गरिन्छ । सुख,शान्ती ,शक्ति र समृद्धिको कामना गर्दै दिइएको दक्षिणालाई घरमा राख्नु भनेको लक्ष्मीलाई भित्राउनु हो भन्ने आम बिश्वास छ । र त्यस्तो दक्षिणा खर्च नगरी राख्ने गरेको पनि पाइन्छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array