निर्वाचनअघि गाडी किन्दै प्रहरी

होस्ट खबर ३१ भाद्र २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौं : नेपाल प्रहरी, सशस्त्र प्रहरी र गृह मन्त्रालयले आगामी ४ मंसिरमा हुने ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुरक्षा व्यवस्थापनका लागि’ भन्दै गाडी किन्ने प्रक्रिया अघि बढाएका छन् ।

नेपाल प्रहरीले सुरक्षा व्यवस्थापनका लागि सवारीसाधन अभाव भएको बताउँदै आएको छ । निर्वाचन नजिकिँदै जाँदा प्रहरीले सुरक्षा व्यवस्थापनका लागि सवारीसाधन भाडामा लिने तयारीसमेत गरेको छ ।

नेपाल प्रहरीले देशभरका प्रहरी कार्यालयमा गरी सुरक्षा व्यवस्थापनअन्तर्गतका काममा १४ सय सवारीसाधन आवश्यक रहेको बताएको हो । तर, सरकारले आगामी निर्वाचनका लागि नेपाल प्रहरीलाई नयाँ सवारीसाधन खरिद गर्न ७५ करोड बजेटको स्रोत सुनिश्चितता दिएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राइले देशभर गरी सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरीलाई १४ सय सवारीसाधन आवश्यक रहेको जानकारी दिए ।

‘प्रहरीलाई सुरक्षा व्यवस्थापनका लागि देशभर १४ सय सवारी चाहिएको छ तर ७५ करोड बजेट सुनिश्चित भएको छ,’ केन्द्रीय प्रहरी प्रवक्ता राईले भने, ‘प्रतिसवारी ५० लाख नबढ्नेगरी खरिद गर्न भनिएकाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका अघि बजेटले भ्याउनेगरी सवारीसाधन खरिद गर्न प्रक्रिया अघि बढेको छ ।’

निर्वाचन सुरक्षाका लागि अपुग हुने सवारीसाधन भाडामा लिएर काम चलाइनेसमेत उनले जानकारी दिए । ‘बजेटले भ्याउने जति खरिद गर्छौं, अपुग सवारी तत्कालका लागि भाडामा लिएर पनि काम चलाउने योजना छ,’ प्रहरी प्रवक्ता राईले अघि भने ।

प्रहरीले ५० लाख रुपैयाँ दरका ८० र ३५ लाख रुपैयाँका दरका सय वटा गाडी खरिदका लागी टेन्डर आह्वान गरेको हो । अर्थ मन्त्रालयले प्रहरीका लागि गाडी खरिद गर्न ७५ करोड स्रोत सुनिश्चित गरेपछि टेन्डर प्रक्रिया अघि बढाएको हो ।

अर्थ मन्त्रालयले प्रहरीलाई प्रतिगाडी ५० लाख नबढ्ने गरी खरिद गर्न भनेकोमा प्रहरीले केही ५० लाख र केही ३५ लाखसम्मका सवारी खरिद गर्ने भएको छ । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array