कांग्रेसले समानुपातिकमा पुरानालाई नदोहोर्‍याउने

होस्ट खबर ३० भाद्र २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौं : सत्तारूढ नेपाली कांग्रेस मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवार चयनमा केन्द्रित भएको छ।

सत्ता गठबन्धनमा रहेका राजनीतिक दलसँग चुनावी तालमेलका लागि मंगलबारसम्म प्रत्यक्ष निर्वाचनतर्फ सिट बाँडफाँटमा समय खर्चंदै आएको कांग्रेसले बुधबारबाट सम्पूर्ण ध्यान समानुपातिक उम्मेदवार छनोटमा केन्द्रित गरेको हो।

एक महिना लामो छलफलमा पनि प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनतर्फ सिट बाँडफाँटमा सहमति जुट्न नसकेपछि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएर पुनः छलफलमा बस्ने समझदारी गठबन्धन दलबीच बनेको छ। सोहीअनुसार कांग्रेस संसदीय समितिको बुधबार बसेको बैठकले समानुपातिकतर्फ उम्मेदवार छनोट मापदण्ड तय गरेको छ।

२०७४ सालको निर्वाचनमा समानुपातिकतर्फबाट सांसद भएकालाई नदोहोर्‍याउने निर्णय कांग्रेसले गरेको छ। विधानको धारा ३३ ९२० मा प्रतिनिधि र प्रदेशसभा सदस्यमा पार्टीका तर्फबाट समानुपातिक आधारमा यसअघि निर्वाचित भएको व्यक्ति समानुपातिक आधारमा पुनः प्रतिनिधि र प्रदेशसभाको सदस्य पदमा उम्मेदवार हुन नपाउने व्यवस्था रहेको कांग्रेसले जनाएको छ।

‘अतः यसअघि प्रतिनिधिसभामा समानुपातिकतर्फबाट निर्वाचित भएको व्यक्ति प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक तर्फबाट निर्वाचित भएको व्यक्ति प्रतिनिधिसभामा समेत समानुपातिकतर्फबाट उम्मेदवार हुन पाउनेछैनन्,’ कांग्रेसले भनेको छ, ‘तर प्रतिनिधि र प्रदेशसभा प्रत्यक्षतर्फ भने उम्मेदवार हुन सक्नेछन्।’

कांग्रेसले विधानको यो व्यवस्था पूर्ण रूपमा कार्यान्वयन गरे अघिल्लो निर्वाचनमा समानुपातिक कोटाबाट सांसद बनेका ४० नेताले अब प्रत्यक्षतर्फ उम्मेदवार बन्नुपर्ने हुन्छ। प्रत्यक्षतर्फ टिकट नपाए आगामी संसद्मा उनीहरूको उपस्थिति हुनेछैन।

समानुपातिक सूचीबाट त्यसरी सांसद हुनेमा शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारका गृहमन्त्री बालकृष्ण खाँण, उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडू, उमा रेग्मी, उमेश श्रेष्ठ, उपसभामुख पुष्पा भुसाल, उद्योगपति विनोद चौधरी, केन्द्रीय सदस्य चित्रलेखा यादव, मीन विक, डिला संग्रौला, सुजाता कोइरालासहित छन्।

त्यस्तै वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार बनेकालाई पनि कांग्रेसले प्रदेश र प्रतिनिधिसभाका लागि समानुपातिकतर्फको उम्मेदवार नबनाउने भएको छ। तर कांग्रेसले उनीहरू प्रत्यक्षतर्फ उम्मेदवार हुन पाउने वा नपाउने भन्ने केही जनाएको छैन। नागरिक दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्