महाभियोग पारित गरेर देखाउन जबराको चुनौती

होस्ट खबर २७ भाद्र २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं : प्रतिनिधिसभा महाभियोग सिफारिस समितिमा बयान दिँदै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोगको विषय दुईचार दिनभित्र टुंगो लगाउन आग्रह गरेका छन्। समितिको बैठकमा आइतबार बयान दिन उपस्थित उनले आफूविरुद्ध महाभियोग लगाएर संसद्ले आफूअनुकूल प्रधानन्यायाधीश बनाउन खोजेको धारणा राखेका थिए। उनले प्रतिनिधिसभाको कार्यकाल असोज १ गते सकिने अवस्थालाई संकेत गर्दै आफ्नो कार्यकाल भने मंसिर २७ सम्म रहेको बताए।

जबराले महाभियोग दुईतिहाइले पारित गर्न चुनौती पनि दिए। उनले भने, ‘मलाई लगाएको आरोप अरूलाई लगाएको भए भागिसक्थे तर मलाई महाभियोग पारित हुन्छ भन्ने पटक्कै विश्वास थिएन, छैन, त्यसैले म यहाँ जवाफ दिन आएको हुँ।’ उनले महाभियोगमा लगाइएका आरोप सत्य नभएकाले आफू खुलेर जवाफ दिन सक्ने अवस्थामा रहेको बताए।

जबरालाई महाभियोग सिफारिस समितिले आइतबार ३२ वटा प्रश्न सोधेको थियो। १२ देखि ३५ बुँदासम्मका प्रश्नको उत्तर दिँदै जबराले आफू निर्दोष भएको दाबी गरे। आफूले अदालतमा ७र८ जना ठालु वकिलको एकलौटी ध्वस्त पारेको दाबी गर्दै जबराले त्यसैकारण उनीहरू आफ्नो विरोधमा लागेको बताए। ‘सीमितले सबै इजलास कब्जा गर्ने र महिला तथा युवा वकिललाई बहस गर्न नदिने प्रवृत्ति मैले अन्त्य गरेको हुँ’, उनले भने, ‘त्यसपछि उनीहरू ममाथि आक्रमण गर्न लागे।’

जबराले सय दिनसम्म नेपाल बारले अदालतको निषेधित क्षेत्रमा नारा–जुलुस गर्दा सरकारले आफूलाई सहयोग नगरेको गुनासो पोखे। आफूले प्रधानन्यायाधीश भएदेखि कुनै गलत काम नगरेको दाबी उनले पटकपटक दोहोर्‍याए। नागरिक दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array