जिल्ला दौडाहामा शीर्ष नेता

होस्ट खबर २७ भाद्र २०७९, सोमबार
3 Min Read
Aa

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलका शीर्ष नेता जिल्ला दौडाहा सुरु भएको छ । जिल्ला पुगेर उनीहरू चुनावी कार्यक्रममा सहभागी हँुदै आफ्ना दलबाट उम्मेदवार हुने नेतालाई विजयी बनाउने रणनीति बनाउन थालेका छन् ।

४ मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा हुँदै छ । निर्वाचन आयोगको सिफारिसमा सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै चुनावी सरगर्मी बढेको छ । नेपालीहरूको महानपर्व दसैं, दीपावली, छठ पर्व सकिएलगतै हुने निर्वाचनका लागि मतदाता रिझाउन राजनीतिक दलका नेता यतिबेला जिल्ला पुग्न थालेका हुन् ।

विभिन्न पार्टीका शीर्ष नेता जिल्लास्थित चुनावी बैठक, सभा, प्रशिक्षणलगायतका कार्यक्रममा सहभागी भइरहेका छन् । उम्मेदवारका आकांक्षी जनताबीच पुग्ने तथा उनीहरूसँग नजिक हँुदै रिझाउने काममा लागेका छन् । पार्टीका शीर्ष नेताहरू चुनावी कार्यक्रममा सहभागी हुने, विभिन्न पार्टीका असन्तुष्ट नेतालाई पार्टीमा भित्र्याउने र विपक्षी दलका नेताहरूको आलोचना गर्नमा व्यस्त भएको देखिन्छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष गत साता झापा, मोरङ, सुनसरीसहितका जिल्लामा पुगेर चुनावी कार्यक्रममा सहभागी भए । ती जिल्लाको कार्यक्रममा सहभागी भएका अध्यक्ष ओलीले विपक्षी पाँच दलीय गठबन्धनको चर्को आलोचना गर्नुका साथै एमालेका उम्मेदवारलाई विजयी गराउन आग्रहसमेत गरेका छन् ।

काठमाडौं फर्किसकेका ओली अहिले उम्मेदवारको अन्तिम नामावली टुंगो लगाउने तथा घोषणापत्रलाई अन्तिम रूप दिने आन्तरिक गृहकार्यमा जुटेका छन् ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा अरू नेताजस्तो जिल्लाको कार्यक्रममा पुग्न सकेका छैनन् । देउवा काठमाडौंकै विभिन्न बैठक तथा कार्यक्रममा व्यस्त रहेका छन् ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्री देउवा पाँच दलीय गठबन्धनको बैठक र सरकारको काममा काठमाडौंमै रहेको बताए । निर्वाचन केन्द्रित कार्यक्रम पार्टीले सञ्चालन गरिरहेको बताउँदै उनले जिल्लामा केन्द्रीय सदस्यलाई परिचालन गरिएको बताए ।

कांग्रेसले तीन चरणको चुनावी अभियान घोषणा गर्दै जिल्ला तथा पालिकामा पुगिरहेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेर काठमाडौं फर्किएका छन् । प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार सातै प्रदेशमा हालै प्रशिक्षण, भेला, बैठक सम्पन्न भएका छन् । ती सबै कार्यक्रममा अध्यक्ष प्रचण्ड पुगेका छन् ।

३० भदौमा जनकपुरमा मधेस प्रदेशको बैठकमा प्रचण्ड सहभागी हुँदै छन् । त्यहाँ उनले चुनावी रणनीति, उम्मेदवार, सो प्रदेशमा पार्टीको अवस्थालगायतबारे छलफल गर्ने कार्यक्रम रहेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल गत साता रौतहट, बारा, कपिलवस्तुलगायतका जिल्लामा पुगेका छन् । ती जिल्लाको भेला, बैठक, प्रशिक्षणलगायतका कार्यक्रममा सहभागी भएका छन् । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array