महारानी एलिजाबेथको त्यो नेपाल भ्रमण

होस्ट खबर
होस्ट खबर २५ भाद्र २०७९, शनिबार
3 Min Read
Aa

काठमाडौं : बेलायतकी महारानी एलिजाबेथ द्वितीया २०४२ साल फागुन ६ गते दोस्रो पटक नेपाल भ्रमणमा आभएका बखत सम्मान स्वरूप काठमाडौं सहरको सुनको साँचो चढाइएको थियो ।

तत्कालीन राजा वीरेन्द्र शाहको निमन्त्रणामा महारानी एलिजाबेथ नेपालको दोस्रो पटक राजकीय भ्रमणमा आएकी थिइन् । त्यसअघि उनी राजा महेन्द्रको निमन्त्रणामा २०१७ सालमा पहिलो पटक नेपाल भ्रमणमा आएकी थिइन् ।

गोरखापत्रमा २०४२ साल फागुन ७ गते प्रकाशित समाचारअनुसार बेलायतकी महारानी एलिजाबेथलाई काठमाडौँ नगरपञ्चायतका प्रधानपञ्च कमल चित्रकारले सुनको साँचो हस्तान्तरण गरेका थिए ।

काष्ठमण्डपमा आयोजित समारोहमा साँचो हस्तान्तरण हुँदा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्य उपस्थित थिए। महारानी एलिजाबेथ द्वितीयका श्रीमान् राजकुमार फिलिप पनि सो अवसरमा सहभागी थिए ।

साँचो चढाइएसँगै महारानीले तत्कालीन नगरपञ्चायतको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेकी थिईन् । नौ इन्च लामो फूलको बुट्टा कुँदिएको सुन्दर भोटेसाँचो कलाकारद्वय मोतीकाजी शाक्य र स्वस्तिरत्न शाक्यले बनाएका थिए । गोरखापत्रले छापेको त्यो समाचारमा उल्लेख छ, “साँचो हस्तान्तरण समारोह नेपाली संस्कृतिसँग गाँसिएको छ । साँचो दिने प्रक्रियाले ठूलो विश्वासको स्थिति इङ्गित गर्छ ।”

बेलायतकी महारानीको नेपाल भ्रमणलाई उच्च महत्व दिँदै त्यो समयमा गोरखापत्रले पहिलो पृष्ठमा समाचार छापेको थियो । ‘स्वतन्त्र र सम्मानित भई बाँच्ने नेपाली मात्रको चाहना’ शीर्षकको समाचारमा तत्कालीन राजा वीरेन्द्रको भनाइ छापिएको थियो । त्यसको तल बेलायत र नेपालबीचका सम्पर्कहरू गाढा एवं सुदृढ शीर्षकमा महारानी एलिजाबेथ द्वितीयको भनाइ उल्लेख भएको समाचार थियो ।

तत्कालीन राजा वीरेन्द्रले स्वतन्त्र र सम्मानित भई बाँच्ने चाहनालाई बेलायतले सधैँ बुझी कदर गरी आएकाले बेलायतसँगको मैत्री सम्बन्धलाई सदैव महत्व दिई आएको कुराले दुई देशबीचको सम्बन्धको प्रगाढतालाई झल्काउँछ भन्नुभएको थियो । त्यसबेला नेपालका प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द थिए ।

बेलायतकी महारानी एलिजाबेथ पहिलो पटक नेपाल भ्रमणमा आउँदा टुँडिखेल वरपर बार लगाउने कार्य गरिएको थियो । सुन्धारादेखि जमलसम्मका चोकमा रहेका राणा शासकका सालिकलाई टुँडिखेलभित्रको बारभित्र सारिएको थियो । त्यसैबेला खुलामञ्च निर्माण गरिएको थियो । त्योबेला नेपाली मौलिक सामग्रीको प्रयोग गरेर स्वागत द्वार निर्माण गरिएका थिए ।

आकर्षित द्वार निर्माण गर्नेलाई पुरस्कारको व्यवस्था गरिएको थियो । लाजिम्पाटमा मादलबाट निर्माण गरिएको द्वारले पहिलो पुरस्कार हात पारेको थियो भने भक्तपुरमा सुकुलको द्वारले दोस्रो र ललितपुरमा धातुका भाँडाकुडाबाट निर्माण गरिएको द्वारले तृतीय पुरस्कार प्राप्त गरेको थियो । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्