काठमाडौं उपत्यकामा ऐतिहासिक इन्द्रजात्रा पर्व मनाइँदै

होस्ट खबर २४ भाद्र २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौं : वर्षाका देवता इन्द्रको पूजा–आराधना गरी काठमाडौं उपत्यकामा ऐतिहासिक इन्द्रजात्रा पर्व मनाइँदै छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि सुरु हुने इन्द्रजात्रा विभिन्न नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने चलन छ ।

हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेको धुलिखेल र दोलखामा पनि मनाउने गरिन्छ । इन्द्रजात्रा व्यवस्थापन समितिका अनुसार जात्राको मुख्य दिन शुक्रबार दिउँसो चार बजे रथारोहण साइत छ ।

यसअघि बुधबार बिहान हनुमानढोकामा बिहान ७:१७ मिनेटको शुभसाइतमा इन्द्रजात्राको लिंगो (यःसी) ठड्याइको थियो । शुक्रबार बिहान दुई बजे वसन्तपुरस्थित गद्दी बैठकअगाडि रहेको कुमारीघरमा रहेको कुमारी, गणेश र भैरवको पूजा गरेपछि जात्रा प्रारम्भ भएको मानिनेछ ।

रथ यात्रा गर्नुअघि दिउँसो साढे तीन बजे राष्ट्रपति विद्यादेवी भण्डारीले रथ र कलश पूजा गर्नेछिन् । त्यसपछि चार बजे रथ गुडाउन सुरु हुनेछ ।

वसन्तपुर गद्दी बैठकअगाडिबाट मरुटोल, जैशीदेवल, लगनटोल, ब्रह्मटोल, ह्युमटसम्म रथ पुर्‍याइनेछ । त्यहाँबाट रथलाई पुनः जैसीदेवलतर्फ फर्काइनेछ । त्यसपछि पनि रथलाई कोहिटी ओरालो हुँदै भीमसेनथान ल्याइनेछ । त्यहाँबाट रथलाई पुनः मरुटोल हुँदै गद्दी बैठकमै पुर्‍याइनेछ ।

आज श्रीलाखे आजु, श्री हलचोक आकाश भैरव, श्री पुलुकिशी (ऐरावत हात्ती), देवीनाच, श्री श्वेत भैरवलगायत सबैजसो देवीदेवताको नाच प्रदर्शन गरिने छ ।

तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेको नालास्थित जंगलबाट लिंगो काटेर ल्याउने गरिन्छ । लिंगोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो ।

इन्द्रजात्राको अवसरमा शुक्रबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । इन्द्रजात्राका अवसरमा राष्ट्रपतिबाट हनुमानढोकामा रहेको गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा अवलोकन गर्ने परम्परा रहिआएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array