निर्वाचनपछि राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा कांग्रेसको इच्छा

होस्ट खबर २२ भाद्र २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौं : आगामी निर्वाचनका लागि पाँच दलीय सत्ता गठबन्धनमा ‘तालमेल हुने कि नहुने रु’ भन्ने मूल चुरो चार पदमा अड्किएको छ ।

कहिले भागबन्डा मिलेजस्तो त कहिले असहमति बढेजस्तो देखिदै गठबन्धनभित्र राष्ट्रपतिदेखि प्रधानमन्त्री हुँदै सभामुख र राष्टिय सभा अध्यक्षमा ‘बार्गेनिङ’ जारी छ ।

निर्वाचन क्षेत्रअनुसार सहमति खोजेर तालमेलको गाँठो फुकाउने कसरतमा रहेका पाँच दलीय गठबन्धन आबद्ध दलबीचमा मूलगाँठो भने ती चार पदको भागबन्डामा अड्किएको हो ।

उच्च स्रोतका अनुसार नेपाली कांग्रेसले आगामी निर्वाचनपछि राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा इच्छा देखाएको छ ।त्यस्तै, माओवादी केन्द्रले प्रधानमन्त्री पदमा चाहना गरिरहेको छ । नेकपा एकीकृत समाजवादीको पनि निर्वाचनपछिको राष्ट्रपति पदमा दाबी देखिएको छ ।

‘गठबन्धनबीच चुनावी तालमेल दुई÷चार सिट तलमाथि भए पनि हुन्छ तर मूल चुरो चार पदमा अड्किएको छ,’ उच्च स्रोतले राजधानीसँग भन्यो, ‘राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभा अध्यक्षमा कुरा अड्किएको हो, सबैभन्दा बढी जोड राष्ट्रिय सभा अध्यक्षबाहेकका तीन पदमा छ ।’

त्यस्तै, जसपाले सभामुखमा चासो राख्दा जनमोर्चा पनि एक पद आफ्नो पक्षमा पार्ने दाउमा देखिएको छ । गठबन्धनबीच सिट बाँडफाँटमा भने प्रतिनिधि सभाको प्रत्यक्षतर्फको १ सय ६५ सिटमा लगभग सहमति हुने सम्भावना बढेको छ । बुधबार सहमति गरेर प्रतिवेदन तयार गर्ने प्रयास भइरहेको छ ।

गठबन्धनभित्र शीर्ष तहमा नेपाली कांग्रेसले ८५, लोकतान्त्रिक समाजवादीसहितका दललाई समेट्दा ९०, माओवादी केन्द्रले ४० देखि ४५, नेकपा एकीकृत समाजवादीलाई १८, जसपालाई १५ र राष्ट्रिय जनमोर्चालाई २ सिट दिनेगरी प्राम्भिक खाका तयार गरिएको छ ।

कांग्रेसलाई सिट बढी दिँदा बाबुराम भट्टराई, वामदेव गौतम र लोसपालाई मिलाउने जिम्मा पनि कांग्रेसलाई नै दिनुपर्ने जनमोर्चाबाहेकका अन्य तीन दलको अडान छ । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array