आज हरितालिका तीज, महादेवको पूजा-आरधना, व्रत बसि मनाइँदै

होस्ट खबर १४ भाद्र २०७९, मंगलवार
4 Min Read
Aa

काठमाडौं : हिन्दु महिला दिदीबहिनीले निराहार व्रत बसी आज हरितालिका मनाउँदै छन् । हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन यो पर्व मनाउने गरिन्छ । अघिल्लो दिन आडिलो र पोषक दर खाएर बसेका महिलाले तीजका दिन पानी समेत नपिइ आफ्ना पतिदेवको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै बस्ने चलन छ ।

पछिल्लो समयमा व्रत बस्ने तरिकामा भने परिमार्जन हुदै आएको छ । धेरै कमले मात्र निराहार व्रत बस्ने गरेका छन् । तीजका दिन बिहानै नुहाइधुवाइ गरी भगवान शिवको आरधना गर्दै महिला नाचगान र रमाइलो गर्नमा व्यस्त हुन्छन् । यसको यथार्थ संस्कृति भुल्दै गएका छन् भने यस पर्वको आडमा विकृति भित्रिँदै गएको छ ।

हरितालिका तीजको पूजा, दिनभर व्रत बसी साँझपख गरिने कर्मकाण्डज्ञाता एवं पण्डित माधवप्रसाद शर्माले बताए । दियो कलश गणेश थापी बीचमा बालुवाको शिव लिंग बनाएर अथवा शिव पार्वतीको मूर्ति राखेर पूजा गर्ने चलन रहेको उनले बताए । कतै कतै कलशमाथि थाली राखेर ओमकार लेखी पूजा गर्ने पनि चलन छ ।

पौराणिक कालमा हिमालय पर्वतकी पुत्री पार्वतीले भगवान् शिवलाई पतिका रूपमा पाउन बसेको व्रतसँग यो हरितालिका तीज जोडिएको पाइन्छ । ‘शिव पुराणमा उल्लेख भएअनुसार पार्वतिको भगवान विष्णुसँग विवाह गर्न खोजिएपछि, पार्वतीलाई उनका साथीले लुकाएर जंगलमा लगेको र पछि त्यहींबाट व्रतको सुरुवात भएको मानिन्छ।

हरितालिका तीजको प्रसंग मात्र नभई यसको नामाकरण पनि पार्वतीले बसेको कठोर व्रतसँग जोडिएको छ । हरितालिका, हरिता र अलिका मिलेर बनेको हो । जसमा हरिताको अर्थ हरण र अलिताको अर्थ साथी भन्ने संस्कृतमा बुझिन्छ । यसरी भगवान् विष्णुसँग पार्वतीले विवाह गर्न नमानेपछि साथीले जंगलमा लुकाएर लगेकाले यसलाई हरितालिका भनिएको कथन छ ।

तीजका दिन विवाह भएका महिलाले मात्र नभई अविवाहिता महिलाले सुयोग्य वर प्राप्त होस् भन्ने कामनाका साथ व्रत बस्ने गर्छन् । कति भने मनमा शान्तिका लागि व्रत बस्ने गरेका छन् ।

हरितालिका तीजका दिन राजधानीको पशुपतिनाथलगायत विभिन्न शिवालयमा भक्तजनको घुइँचो लाग्नेगर्छ । त्यस्ता, ठाउँमा महिला भेला भई सांगितीक एवं नाचगानको कार्यक्रम गर्ने गर्छन् । तीजका दिन कोटेश्वरको कोटेश्बर महादेव , भक्तपुरको डोलेश्र , सांगाको महादेब, ललितपुरका तिलेश्वर , कालेश्वर र सन्तानेश्वर महादेवका मन्दिरका साथै सतिदेवीका अंग पतन भएका शक्तिपीठ र आराध्यदेव महादेवका मन्दिरमा भक्तजको भीड लाग्नेगर्छ ।

दियोकलश गणेश थापी माझमा थालीमा शिव–पार्वती सम्झेर साँझ हरितालिकाको पुूा लगाउने चलन छ । तीजको व्रत भने भोलिपल्ट गौदान र पुर्णपात्रो गरेपछि मात्र पुर्ण हुने विश्वास गरिन्छ ।

हरितालिकाको पर्सिपल्ट पञ्चमीका दिन अरुणधतीसहित सप्तऋषिको पूजा गरेपछि तीज सकिन्छ । पञ्चमीका दिन महिनावारीबाट हुने छुवाछुतबाट हुने दोषबाट मुक्त हुन यस दिन व्रतसहित सप्तऋषिको पूजा गर्ने गरिन्छ । यसदिन विहानै महिलाहरूले ३ सय ६५ वटा दतिवन पनि लगाउने गर्छन् ।

महिला अधिकारकर्मीहरू तीजलाई आत्मनिर्णयको अधिकारका निम्ति लडाइँका रूपमा मान्ने गरेका छन् । पछिल्लो समयमा गहनाको प्रर्दशनीले गर्दा केही तीजमा विकृति देखीपनि यो सामाजिक सद्भाव फैलाउने चाड भएको महिला अधिकारकर्मीको भनाइ छ ।

तीजमा विकृति भित्रिएका धेरैले अनुभव गर्न थालेका छन् । विगतमा हरितालिकाको एक दिनअघि मात्र दर खाने गरिए पनि पछिल्ला वर्षमा राजधानीलगायत मुख्य सहरमा एक महिना अघिदेखि नै दर खाने प्रचलन सुरु भएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्