बहुमत ल्याउने एमाले रणनीति तयारी

होस्ट खबर ११ भाद्र २०७९, शनिबार
2 Min Read
Aa

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) आगामी निर्वाचनकेन्द्रित छलफलमा जुटेको छ ।आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बहुमत ल्याउनेगरी तयारीमा जुट्न अध्यक्ष केपी शर्मा ओलीले निर्देशनसमेत दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा शुक्रबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्दै निर्देशन दिएका हुन् ।

बैठकमा ओलीले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा लोकप्रिय मत ल्याएको र त्यसमा थप मेहनत गर्नसके आगामी निर्वाचनमा बहुमत ल्याउन सकिने दाबीसमेत गरेका छन् । शनिबारसम्म चल्ने बैठकमा ओलीले अहिलेको परिस्थिति र आगामी निर्वाचनपछिको स्थिति सम्बन्धमा राजनीतिक प्रतिवेदन पेस गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए ।

बैठकमा उम्मेदवार छनोट मापदण्ड र प्रक्रियालगायतका विषयमा समेत समूहगत छलफल भइरहेको छ । ओलीले पेस गरेको ‘राजनीतिक प्रतिवेदनमा आगामी निर्वाचनमा मतवृद्धि र मतरक्षा कसरी गर्न सकिन्छ रु’ भन्ने विषयसमेत उल्लेख गरेका छन् । स्थानीय निर्वाचनमा अपेक्षाअनुरूप परिणाम नआएकाले पार्टीपंक्तिमा अझै निर्वाचनको धङधङी रहेको बताउँदै उनले सुझाएका हुन् ।

‘आरोप, प्रत्यारोप र आपसी आशंका अझै बाँकी छन् । यस स्थितिबाट पार्टीपंक्तिलाई मुक्त गर्दै आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारीमा केन्द्रित गर्न जरुरी छ,’ ओलीले प्रतिवेदनमा भनेका छन् ।

अध्यक्ष ओलीले मतवृद्धिका लागि केही उपायसमेत प्रस्ताव गरेका छन् । मतदाता नामावली अद्यावधिक गर्ने र दोहोरिएका नाम हटाउन निर्वाचन आयोगको ध्यानाकर्षण र पहल गर्ने, आमजनसमुदायमा पार्टीका नीति र एजेन्डा व्यापक प्रचार गर्ने, एमाले सरकारले गरेका कामको सशक्त प्रचार गर्ने, आफ्नो शक्ति र सीमामाथिको आत्मविश्वास बढाउने, गठबन्धनको मनोवैज्ञानिक भयबाट मुक्त हुनेलगायत उपाय ओलीको छ । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array