आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन

होस्ट खबर ११ भाद्र २०७९, शनिबार
2 Min Read
Aa

सुर्खेत : पितालाई सम्मान–भक्ति प्रकट गर्दै आज बुबाको मुख हेर्ने दिन मनाइँदै छ । अन्धकाररूपी संसारमा ज्ञान एवं कर्मको दिव्यज्योति प्रदान गरेर अघि बढ्न सिकाउने गुरुका रूपमा रहेका पितालाई मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडालगायत दिँदै सम्मान गरिन्छ ।

भाद्र कृष्ण कुसे औंसीमा बाबुको सम्मान गरिने परम्परा छ । बुबालाई पिता, बाबा, तात, ड्याडी, पापा शब्दले चिनिन्छ । यस दिनलाई अर्को शब्दमा पितृऔंसी, पितृ दिवस, गोर्कण औंसी, कुसेऔंसी पनि भनिन्छ ।

आमापछिको द्वितीय गुरुका रूपमा पितालाई शास्त्रले वर्णन गरेको छ । महत्वपूर्ण धार्मिक कार्य गर्नुअघि पनि पितृकै स्मरण गर्ने चलन छ । पितालाई संरक्षण, रक्षा र पालनपोषण गर्ने चरित्रका रूपमा शास्त्रमा उल्लेख छ ।

औंसीका दिन आफूलाई कर्म दिने मुख हेर्न छोराछोरी बुवा भएको ठाउँमा पुग्ने गरेका छन् । बुबालाई भेट्दा आफ्नो क्षमताअनुसार मिठाई, लड्डु तथा विभिन्न खाद्यपदार्थ खुवाउने चलन छ ।

पिता जीवित हुनेले मिठामिठा परिकार बनाएर खुवाउँछन् । लुगाफाटो तथा विविध उपहार दिएर पितालाई खुसी बनाउँछन् । विवाहित महिलाले माइतमा गएर बुबाबाट आर्शिवाद लिने चलन छ ।

औंसीका दिन बाबु नहुनेले विभिन्न तीर्थस्थलमा गई तपर्ण तथा श्राद्ध गर्ने परम्परा छ । यसपटक अघिल्लो दिन शुक्रबारै औंसी तिथि परेकाले काठमाडौं, ललितपुर र आसपासका बासिन्दाले शुक्रबार गोकर्णमा गई श्राद्ध तथा तपर्ण गरेका छन् ।

उत्तरगयाका रूपमा परिचित गोकर्णेश्वर महादेवथानमा श्राद्ध गरी पिण्डदान गर्नाले त्यसले मातृकुल, पितृकुल, बन्धु–ससुराली कुलादि सय कुलको उद्धार हुने धार्मिक विश्वास रहिआएको छ ।

गोर्कणमा श्राद्ध गर्नु भारत कासीको गयामा श्राद्ध गर्नुसरह फल मिल्ने धार्मिक विश्वास रहेको संस्कृतिविद् बताउँछन् । चन्द्रमती, सूर्यमती र बाग्मतीको संगम त्रिवेणी तीर्थमा स्नान गरी विधिपूर्वक श्राद्ध र पिण्डदान गरी भगवान् गोकर्णेश्वर महादेव र हनुमान दर्शन गर्नाले पितृमुक्त हुन्छन् ।

पुराणमा उल्लेख भएअनुसार पिताको स्मरणमा मानसम्मान र मृतात्माको मंगल कामना गर्दै धुन्धुकारीजस्तो पुत्र होइन, गोकर्णजस्तो पितृको उद्धार गर्ने पुत्रको कामना गरिएको छ । औंसीका दिन बाबु नहुनेले ब्राह्मणलाई सिदा दान पनि गर्दै छन् ।

हिन्दू धर्म परम्परामा जल दान र अन्नदानको विशेष महत्व हुन्छ । पितृ औंसी तथा गोकर्ण औंसीका नामले समेत चिनिने यसदिन आफूलाई जन्म दिई लालनपालन गरी हुर्काएकोमा बाबुप्रति कृतज्ञता ज्ञापन गरी सम्मान गरे राम्रो फल मिल्ने विश्वास छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array