१५ दिनसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान शुरू

होस्ट खबर १० भाद्र २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौं : नेपाली कांग्रेसले आउँदो चुनावलाई लक्षित गरी आजदेखि १५ दिनसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ ।

पहिलो चरणको यो अभियान आजदेखि भदौ २४ गतेसम्म चल्ने छ । लुम्बिनी प्रदेशका कांग्रेस सभापति अमरसिंह पुनले अभियानले आगामी निर्वाचनमा कांग्रेसलाई मात्र नभएर गठबन्धनलाई नै बलियो बनाउने बताए ।

‘अभियानले कुन ठाउँमा पार्टीको अवस्था के छ र कसरी सुधार गर्न सकिन्छ भन्ने तल्लो तहसम्म पुगेर छलफल गर्छ’, पुनले भने– ‘कांग्रेसप्रति जनताको अपेक्षा के रहेछ भनेर बुझ्ने र के गर्दा कांग्रेसप्रति जनताको विश्वास लिन सकिन्छ भन्नेबारे पनि बृहत् रूपमा छलफल गरिन्छ ।’

उनले अभियानमा कांग्रेसको मात्र नभएर गठबन्धनमा रहेका अन्य दलको पनि अवस्था बुझ्ने र निर्वाचनमा कुन दललाई टिकट दिँदा जित्न सकिन्छ भन्ने विषय पनि उठाइने बताए । स्थानीय तहको निर्वाचनमा देखिएका आपसी द्वन्द्वलाई व्यवस्थापन गर्दै अगाडि बढ्नुपर्ने उनको भनाइ छ । उनले प्रदेश कार्यसमितिले पनि प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रतिनिधि पठाइएको पनि जानकारी दिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले गठबन्धनको अवस्थाका साथै कांग्रेसको सम्भावनाका बारेमा अभियान केन्द्रित हुने बताए। ‘यो अभियानले कांग्रेसलाई थप ऊर्जाशील र गतिशील बनाउँछ, अरू पार्टीसँग तालमेलको मोडेलका बारेमा पनि विशेष छलफल हुन्छ’, महरले भने– ‘कांग्रेसप्रति जनताको धेरै अपेक्षा छ, जनताको अपेक्षालाई कांग्रेसले कसरी सम्बोधन गर्न सकिन्छ भन्ने उपाय पनि खोजिन्छ ।’

महरले स्थानीय तहको जस्तै यो अभियान पनि सबै वडासम्म पुग्ने बताउनुभयो । महरले कांग्रेसले र गठबन्धनले जित्ने हरेक उपायका बारेमा अन्य दलसँग छलफल हुने जानकारी दिए । कांग्रेस केन्द्रीय सदस्य धना खतिवडाले आगामी निर्वाचन कांग्रेसका लागि अवसर भएको बताए ।

‘जिल्लामा खटिएका साथीहरुले त्यहाँको अवस्था जस्तो छ त्यस्तै रिपोर्ट ल्याउनुपर्छ अनि मात्र कसरी जाने भन्ने योजना गर्न सकिन्छ’, उनले भने– ‘अभियानले हाम्रा सवल र दुर्बल पक्ष के छन् र त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेमा विशेष ध्यान दिनुपर्छ ।’ नेपाल समाचारपत्र दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्