थपिए साढे ४ लाख नयाँ मतदाता

होस्ट खबर २० श्रावण २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौं : सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अब आजको १०८औं दिन ‘एकै दिन एकै चरण’मा गर्नेगरी ४ मंसिरका लागि मिति तोकेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले आगामी ४ मंसिरमा १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा चुनाव मिति तोकेको हो ।

निर्वाचन आयोगले भने २ मंसिरमा निर्वाचन गर्नेगरी सरकारसमक्ष मिति प्रस्ताव गरेको थियो । आयोगले प्रस्ताव गरेको २८औं दिन बिहीबार सरकारले मिति तोकेको हो । निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचनसम्बन्धी कानुनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन मिति आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था गरेको छ ।

यसअघि, बुधबार बसेको सत्तारूढ गठबन्धन बैठकले ४ मंसिरमा निर्वाचन गर्ने सहमति गरेको थियो । आयोगले निर्वाचन घोषणा भएपछि पत्रकार सम्मेलन गर्दै पर्याप्त समय रहेको बताएको छ । आयोगले यसअघि निर्वाचनका लागि तयारी गर्न १ सय २० दिनको समय आवश्यक पर्ने बताउँदै आएको थियो ।

छिल्लोपटक स्थानीय तह निर्वाचनपछि १ असारबाट सुरु नामावली दर्ताक्रममा बिहीबार दिउँसोसम्म ४ लाख ४८ हजार ५ सय १६ नयाँ मतदाता थप भएका छन् । जसअनुसार बिहीबार दिउँसोसम्म प्रदेश १ मा ९० हजार २ सय ७५, मधेस प्रदेशमा ८३ हजार ३ सय ६, बाग्मती प्रदेशमा १ लाख ४ हजार ४ सय ७, गण्डकीमा ४५ हजार ३९, लुम्बिनीमा ७० हजार ६६, कर्णालीमा १८ हजार ६ सय ८६ र सुदूरपश्चिम प्रदेशमा ३६ हजार ७ सय ३७ नयाँ मतदाता थपिएका छन् ।

आयोगका अनुसार गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनअघि आयोगमा कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताको नाम दर्ता छ । जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला र १ सय ८३ अन्य मतदाता छन् । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array