सत्ता गठबन्धनः तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन

होस्ट खबर १८ श्रावण २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौं : आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल विषयमा सत्ता गठबन्धनभित्र सहमति त छ तर गठबन्धनभित्र ‘कसरी र कुन मोडालिटीमा सिट बाँडफाँट हुनेरु’ भन्ने विषय भने पेचिलो बन्दै गइरहेको छ । सिट बाँडफाँटमा व्यापक उल्झन हुन सक्नेसमेत देखिएको छ ।

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले गत असारमा ६ दिन बसेको केन्द्रीय समिति बैठकबाटै आगामी निर्वाचनमा सत्तारूढ दलबीच चुनावी तालमेल गर्ने निर्णय गरेको थियो ।

सो निर्णयको गठबन्धनमा आबद्ध दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले स्वागत गरेका थिए । त्यसयता गठबन्धनभित्र आगामी निर्वाचन र सिट बाँडफाँटको ‘मोडालिटीबारे छलफल नै भएको छैन ।

कांग्रेस नेता रामचन्द्र पौडेलले ‘कांग्रेसले सत्तामा रहेका दलबीच चुनावी तालमेल गर्ने निर्णय गरिसकेकाले केही दिनमै सिट बाँडफाँटबारे छलफल सुरु गर्ने जानकारी दिए ।

निर्वाचन आयोगले आगामी २ मंसिरमा निर्वाचन मिति प्रस्ताव गरिसकेको छ । तर, गठबन्धनभित्र निर्वाचन मिति विषयमा पनि छलफल भएको छैन । स्रोतका अनुसार ४ मंसिरमा निर्वाचन गर्ने सरकारको तयारी छ ।

प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० सिटको संवैधानिक व्यवस्था छ । गठबन्धनमा रहेका दलका शीर्षनेताबीच भएको यसअघिको सहमतिअनुसार गत स्थानीय तह निर्वाचनमा गठबन्धनमा आबद्ध दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँटमा अघि बढ्ने सहमति छ ।

उच्च स्रोतका अनुसार प्रतिनिधि सभा निर्वाचनका लागि सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसले ८५ देखि ९० सिटमा दाबी गरेको छ ।

यसैगरी, नेकपा माओवादी केन्द्रले ५० भन्दा बढी सिटमा अपेक्षा राख्दा जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादीले आन्तरिक रूपमा ३०÷३० सिटभन्दा बढीमा दाबी राख्ने योजना बनाएका छन् । तर, दाबी गरेअनुसार सिट पाउने अवस्था नभएकाले माओवादी केन्द्रले ४०, जसपाले २३, नेकपा एसले २० सिट पाउने अवस्था रहेको बताइन्छ ।

त्यस्तै, सत्ता गठबन्धनमा रहेको सबैभन्दा सानो दल राष्ट्रिय जनमोर्चाले पाँच सिट माग गर्न थालेको छ । तर, उसले बढीमा प्रत्यक्षतर्फ दुई सिट पाउन सक्ने सम्भावना छ । गठबन्धनभित्र एकीकृत समाजवादी र जसपाको सिट बाँडफाँटमा भने समस्या हुने देखिएको आजको राजधानी दैनिकमा खवर छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्