निर्वाचन घोषणमा किन ढिलाइ ?

होस्ट खबर १६ श्रावण २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं : निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सरकारसमक्ष २ मंसिरको मिति प्रस्ताव गरेको २५ दिन बितिसक्दा पनि सरकारले मिति घोषणा गरेको छैन ।

आयोगले निर्वाचनका लागि तयारी गर्न १ सय २० दिनको समय आवश्यक पर्ने भन्दै २२ असारमा सरकारसमक्ष २ मंसिरको मिति प्रस्ताव गरेको थियो । तर, सरकारले मिति घोषणा नगर्दा मंसिरमा निर्वाचन हुने नहुने निश्चित छैन । आयोगले मिति घोषणामा ढिलाइ भए निर्वाचन तयारीमा समस्या हुने बताउँदै आइरहेको छ ।

उच्च स्रोतका अनुसार संसद्को चालू अधिवेशन अन्त्य गरेर मात्रै निर्वाचन मिति तोक्ने सरकारको तयारी छ । सरकारमा रिक्त अर्थमन्त्री, नागरिकता विधेयकका कारण निर्वाचन मिति घोषणामा ढिलाइ भएको स्रोतको दाबी छ । तर, आइतबार नै अर्थमन्त्रीमा जनार्दन शर्मा नियुक्त भइसकेका छन् भने नागरिकता विधेयक दुवै सदनबाट पारित भएर आइतबार सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरिसकेका छन् ।

‘संसद्को चालू अधिवेशन सक्ने, अर्थमन्त्री नियुक्त गर्ने र नागरिकता विधेयक प्रमाणीकरण भएपछि निर्वाचनको मिति तोक्ने सरकारको तयारी हो, अर्थमन्त्री नियुक्त भइसकेका कारण अब सोमबार बस्ने मन्त्रिपरिषद् बैठकबाटै पनि मिति घोषणा हुन सक्छ, त्यो सम्भावना छ,’ एक मन्त्रीले भने ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने आयोग निर्वाचनका लागि सम्पूर्ण रूपमा तयार रहेको बताए ।

उनले यसअघि नै ४ मंसिरका लागि निर्वाचनको मिति घोषणा हुन सक्ने संकेत गरिसकेका छन् । आयोगले देशभर एकैदिन एकै चरणमा १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न गर्ने गरी रणनीति बनाएको छ । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्