सदनमा कसरी निम्तियो धकेलाधकेलको स्थिति ?

होस्ट खबर ४ जेष्ठ २०८१, शुक्रबार
6 Min Read
Aa

काठमाडौं : प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराइनसक्दै कांग्रेस सांसदहरू वेल घेराउ गर्न पुगिसकेका थिए । सहकारीमा जम्मा गरिएको रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गरिरहेको कांग्रेसले यसअघिका बैठकमा यथास्थानमा उठेर विरोध जनाउने गरे पनि बिहीबार भने सुरुमै वेल घेराउ गर्न पुगेको थियो ।

सभामुखले सुरुमै शून्य समय र विशेष समयको कार्यक्रम नरहेको व्यहोरा जानकारी गराए । त्यतिञ्जेल कांग्रेस सांसदहरूले नाराबाजी सुरु गरिसकेका थिए । उनीहरूले ‘सहकारी पीडितलाई न्याय दे’, ‘संसदीय छानबिन समिति गठन गर’ भन्ने जस्ता नारा लगाइरहेका थिए ।

सांसदहरूलाई धेरै कामकारबाहीहरू थाती हुँदै आइरहेको भन्दै बैठक अगाडि बढाउन सहयोगको अपेक्षा राखे । ‘खासगरी राष्ट्रपतिबाट आएका पत्रहरू हामीले जानकारी राख्नुपर्ने, सुन्नुपर्ने स्थिति छ । त्यस्तै (जेठ) १ गते राष्ट्रपतिबाट भएको सम्बोधनलाई धन्यवाद ज्ञापन गर्नुपर्ने छ । अध्यादेशबाट आएको कानुनलाई हामीले यहाँ टेबल गर्नु छ । यसभन्दा अगाडि नै गर्नैपर्ने कामहरू बाँकी रहेका छन् । त्यसैले माननीयज्यूहरू आफ्नो ठाउँमा आसन ग्रहण गर्नुस्’, सभामुखको आग्रह थियो, ‘र, हामीले गर्नैपर्ने कामकारबाहीलाई अगाडि बढाउनका लागि साथ दिनका लागि म माननीयज्यूहरूलाई अनुरोध गर्दछु ।’

सभामुखको आग्रहलाई बेवास्ता गरेर कांग्रेस सांसदहरू भने नाराबाजी गरिरहेकै थिए( संसदीय छानबिन समिति गठन गर ।

सभामुखले पनि वेल घेराउलाई बेवास्ता गर्दै कार्यसूचीअनुसार अघि बढ्ने तयारी थाले । वेल घेराउ भइरहेको अवस्थामा पनि सभामुख नियमित ढंगले अघि बढ्न खोजेपछि राप्रपा र लोसपाका सांसदहरू पनि यथास्थानमा उठेर विरोध जनाए ।

यतिबेलै एमाले अध्यक्ष केपी शर्मा ओली बैठकस्थल प्रवेश गरेका थिए ।

तयारी अनुसार, सर्वप्रथम सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त एउटा पत्र वाचन गरे । जुन पत्र खाद्य विधेयक प्रमाणीकरणसँग सम्बन्धित थियो । त्यस्तै, सांसदहरूलाई आसन ग्रहणका लागि अनुरोध गर्दै अर्को पत्र ‘सुनिने गरी, बुझिने गरी’ राख्न चाहेको बताए । तर नाराबाजी थप जोसिलो बन्यो । उनी रोकिए ।

केही रोकिएपछि सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त अर्को पत्र पनि पढ्न थाले । यो पत्र मन्त्रिपरिषद् पुनर्गठनबारे थियो । वैशाख ३१ गते थपिएका मन्त्री र राज्यमन्त्रीबारे पत्रमा उल्लेख थियो ।

कांग्रेस सांसदहरूले ‘सहकारी पीडितलाई न्याय दे’, ‘जबर्जस्ती मुर्दावाद’ जस्ता नारा लगाइरहेका थिए । सभामुख एक कदम अघि बढे । उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सभामा उठेका प्रश्नहरूको जवाफ दिन समय माग गरेको भन्दै उनलाई समय दिए ।

त्यसपछि कांग्रेस सांसदहरू झन् उत्तेजित भए । त्यतिबेला कांग्रेस उपसभापति धनराज गुरुङ गृहमन्त्री लामिछाने नजिकै थिए ।

लामिछाने रोस्ट्रमतिर जाने तयारी गरिरहँदा एमालेका सांसदहरू पनि उठे । उनीहरूले पनि हात हल्लाएर हल्ला गर्न थाले ।

रवि लामिछाने आफ्नो कुर्सीबाट बाहिर निस्किन पाएका थिएनन् । उनका वरिपरि कांग्रेसका सांसदहरू थिए । एक छेउमा उपसभापति गुरुङ थिए । उनी सरकारको ‘रो’ मा पुगेका थिए । एमाले अध्यक्ष ओली गुरुङ छेउ पुगे र उनलाई त्यहाँबाट हट्न आग्रह गरे । ओलीको पछिपछि एमालेका प्रमुख सचेतक महेश बर्तौला पनि थिए ।

ओलीले केही भनिरहँदा गुरुङ झर्किए । उनले त्यसपछि ओलीको प्रतिवाद पनि हुने गरी र नाराबाजी पनि हुने गरी हात उठाउँदै कराउन थाले । ओली पनि रिसाए जस्तो देखिन्थ्यो । दुई बीच भनाभनको स्थिति उत्पन्न भयो ।

भनाभन भइरहँदा एमालेका सांसदह ठाकुर गैरे, महेश बर्तौला, सूर्य थापा लगायतले ओलीको बचाउ गर्न खोजेका थिए । त्यहाँ एकाएक धकेलाधकेलको स्थिति उत्पन्न भयो ।

सबैजसो मुख्य पार्टीका सांसदहरू वेल क्षेत्रमा आइपुगेका थिए ।

यसअघि कांग्रेसले सभामुखसँग आफ्ना माग राखिरहेको थियो, असन्तुष्टि पोखिरहेको थियो । एमालेको प्रतिवादपछि अब कांग्रेस र एमालेबीचको द्वन्द्व जस्तो बन्न पुग्यो ।

एमाले र कांग्रेसका नेताहरूले ओली(गुरुङबीच देखिएको असझदारीलाई आफ्नो तर्फबाट व्याख्या गर्दै आफूलाई निर्दोष साबित गर्ने प्रयत्न गरेका छन् ।

कांग्रेस महामन्त्री गगन थापाको भनाइ छ, ‘धनराज गुरुङले नारा लगाइरहेको बेलामा एमाले अध्यक्ष जुरुक्क उठ्नुभयो र हप्काउनुभयो । हप्काउने मात्रै होइन, केही साथीहरू (एमालेका सांसदहरू) अशिष्ट ढंगले प्रस्तुत हुनुभयो । नेपाली कांग्रेसका साथीहरूले स्वभाविक रुपमा बोलेर त्यसको प्रतिवाद गर्नुभयो ।’

ओलीले उक्साएको र अभद्र व्यवहार गरेको भन्दै थापाले ती कुनै पनि कुरा गर्न आवश्यक नरहेको बताए । उनले ओलीले जबर्जस्ती एउटा सिन क्रियट गर्न खोजेको र आफूहरूको ध्यान पुगेको बताए । उनले ओली ‘झुक्किएको’ भन्दै कटाक्ष गरे । ‘उहाँले कांग्रेसका सांसदहरूलाई आफ्नो कार्यकर्ता भन्ठान्नु भए जस्तो लाग्यो’, उनले भने ।

एमालेका प्रमुख सचेतक बर्तौला भन्छन्, ‘सभामुखले गृहमन्त्रीलाई बोल्ने समय दिएपछि नेपाली कांग्रेसका सिनियर पदाधिकारी ९धनराज गुरुङ०ले सरकारको ‘रो’मा आएर अवरोध गर्ने र उपसभामुखको चेयरमा आएर बस्ने प्रकारको असंसदीय, गैरराजनीतिक व्यवहार गर्नुभयो ।’

गुरुङले आफ्ना अध्यक्ष ओलीमाथि अपमानजनक व्यवहार गरेको बर्तौलाले बताए । ‘निष्कर्षमा भन्दा, नेपाली कांग्रेसले आजको संसद्‌मा घोर अलोकतान्त्रिक, गैरराजनीतिक र असंसदीय व्यवहारको प्रदर्शन गर्नुभयो । कांग्रेसले अधिनायकवादी हरकत र व्यवहार प्रदर्शन गर्‍यो । कांग्रेसले संसदलाई मुठभेडको ठाउँमा लैजाने, दादागिरी मच्चाउने र संसदीय अराजकता मच्चाउने जे काम नेपाली कांग्रेसका सांसदहरूबाट भयो । यसको एमालेको तर्फबाट भर्त्सना गर्न चाहन्छु’, बैठकपछि संसद् परिसरमा पत्रकारहरूसँग उनले भने ।

सभामुखले समय दिएका गृहमन्त्री लामिछाने रोस्ट्रममा जानै पाएका थिएनन् । उनले पुनः आसन ग्रहणका लागि अनुरोध गरे । उनले कार्यसूचीका बाँकी सूचीलाई हटाए र बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिदिए ।

यता वेलमा नाराबाजी र धकेलाधकेल जारी थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्