को हुन् कर्णाली प्रदेशको चौथौ मुख्यमन्त्री बनेका यामलाल कँडेल ?

होस्ट खबर २८ चैत्र २०८०, बुधबार
3 Min Read
Aa

सुर्खेत : कर्णाली प्रदेशको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले मङ्गलबार साँझ संविधानको धारा १६८ (२) अनुसार नेकपा एमाले संसदीय दलका नेता कँडेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री कँडेल वीरेन्द्रनगर नगरपालिका–४, भैरवस्थान निवासी कँडेल २०३६ सालको विद्यार्थी राजनीतिबाट आएका नेता हुन् ।

२०४० सालमा शंकरदेव क्याम्पस, काठमाडौंमा स्ववियु सभापतिमा नेविसंघका तत्कालीन उम्मेदवार हृदयराम थानीसँग प्रतिस्पर्धा गरेका थिए । त्यहाँबाट सुरु भएको थानी–कँडेलको प्रतिस्पर्धा २०७० सालको संविधानसभा निर्वाचनसम्मै कायम रह्यो ।

२०४९ सालमा एमालेको सुर्खेत सचिव बनेका उनी २०४९ को स्थानीय निर्वाचनमा वीरेन्द्रनगरको मेयर बने । २०५१ सालको मध्यावधि निर्वाचनमा मेयरबाट राजीनामा दिएर चुनाव लडेका उनी कांग्रेसका थानीलाई पराजित गर्दै सांसद बने ।

२०५४ मा एमाले फुट्दा वामदेव गौतम नेतृत्वको मालेतिर लागे, गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बने । तर २०५६ को चुनाव हारे । गौतमसँगै एमालेमा फर्किएका उनी २०६४ सुर्खेत क्षेत्र नं २ बाट संविधान सभा सदस्य निर्वाचित भए । दोस्रो संविधान सभा निर्वाचनमा फेरि उनले थानीसँगै हार व्यहोरे ।

यद्यपि संविधान निर्माणका क्रममा कर्णाली प्रदेश निर्माणको माग गर्दै भएको आन्दोलनमा एमालेबाट नेतृत्वदायी भूमिका खेले । २०७४ मंसिरमा भएको पहिलो र २०७९ मंसिरको दोस्रो प्रदेशसभा निर्वाचनमा उनी सुर्खेत प्रदेशसभा २ ९१० बाट निर्वाचित भए । उनी एमालेका स्थायी कमिटी सदस्य पनि हुन् ।

त्यसअघि मंगलबार नै कँडेलले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । ४० सदस्यीय कर्णाली प्रदेशसभामा एमालेका ९ (सभामुख बाहेक) प्रदेश सांसद छन् । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्र (१३) र एकीकृत समाजवादी (१) ले समर्थन गरेपछि कँडेलले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

कँडेलको पक्षमा प्रष्ट बहुमत भएकाले प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरे । ‘अघिल्लो प्रदेशसभामा ४० मध्ये जम्मा ६ सिट जितेको कांग्रेसले सरकार बनायो, तर २० सिट जित्दा पनि हामीले सरकारको नेतृत्व गर्ने अवसर पाएको थिएन’ एमालेका एक केन्द्रीय नेता भन्छन्, ‘यो पटक १० सिट जित्दा पनि सरकारको नेतृत्व गर्ने अवसर पाएका छौं । यो एमाले लागि चुनौती र अवसर दुवै हो ।’

यो पटक प्रदेशसभाको गणितमा एमाले निकै कमजोर अर्थात तेस्रो दल भएको बेला माओवादी र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री बनेका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array