कर्णालीका कृषि मन्त्रीको एक बर्षे उपलब्धि: ३२ बुँदा सार्वजनिक

होस्ट खबर ११ माघ २०८०, बिहीबार
5 Min Read
Aa

सुर्खेत : कर्णालीका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले एक बर्षे उपलब्धि सार्वजनिक गरेका छन् । आज पत्रकार सम्मेलन गरी उनले उपलब्धिहरु सार्वजनिक गरेका छन् ।

उनको ३२ बुँदे उपलब्धिमा हजारौँ फलफुलका विरुवाहरु वितरणदेखि हिउँदै मकैको खेतीको सुरुवात भएको लगायतका गतिविधिहरु छन् । मन्त्री शर्माले गत आर्थिक बर्ष (०७९/८०) साना सिंचाई तथा मर्मत सम्भारतर्फ ७८८ योजना निर्माण सम्पन्न भई १०५० हेक्टर क्षेत्रफलमा सिंचाई सुधार तथा ११५ हेक्टर सिंचाई सुविधा थप भएको उल्लेख गरेका छन् ।

उक्त योजना कार्यान्वयनका क्रममा १५ हजार २२० जनालाई दुई महिना बराबरको अस्थाई रोजगारी सृजना भएको र जसबाट १८ हजार ४५६ घरधुरी लाभान्वित भएको छन् । यस्तै बाढी पहिरोका कारण क्षति भएका २१३ वटा सिंचाई संरचनाको मर्मत सम्भार तथा पुनः निर्माण कार्य भएको, चालु आर्थिक बर्षमा साना सिँचाई तथा मर्मत सम्भारतर्फ ६२८ वटा योजना मध्ये ५०५ वटाको सम्झौता भई कार्यान्वयनको चरणमा रहेको उल्लेख छ ।

यस्तै हिँउदे फलफुल क्षेत्र विस्तारका लागि ४९ हजार ८ सय स्याउ, २६ हजार ४ सय ३६ ओखर, हजार ९ सय किवी फल र ६ सय ड्रागनफल गरी जम्मा ८५ हजार ७ सय ३६ विरुवा वितरण गरिएको कार्यलाई पनि मन्त्री शर्माले उपलब्धिमा राखेका छन् । उक्त कार्यबाट दुई सय १५ हेक्टर क्षेत्रफल विस्तार भएको, ३०५ घरघुरी लाभान्वित भई २५० जनाले १५ दिनको रोजगारी पाएको उल्लेख छ ।

ब्याज अनुदान कार्यक्रम मार्फत ४ करोड ७१ लाख लगानीमा ८७ करोड ८३ लाख पूँजी कृषि क्षेत्रमा परिचालन भएको बताउँदै शर्माले त्यसबाट १३५७ जना कृषक प्रत्यक्ष सहभागी भएको बताए । उक्त कार्यबाट ८५० जना पूर्ण स्वरोजगार र ३५७० जनालाई ३ महिना बराबरको आंशिक रोजगारी सृजना भएको छ ।

दुग्ध प्रवर्दन कार्यक्रम मार्फत दुध उत्पादन गर्ने कृषकलाई पहाडी जिल्लामा प्रतिलिटर ५ रुपैयाँ र हिमाली जिल्लामा प्रतिलिटर १० रुपैयाँको दरले १ करोड २७ लाख ४८ हजार रुपैयाँ प्रोत्साहन बाट २३ लाख ९२ हजार ९८८ लिटर दुध संगठित बजारमा पुगी ३०५३ जनालाई ५ महिना र ४१२ जनालाई पूर्ण रोजगारी सृजना भएको, पशु खोप कार्यक्रमतर्फ १५ लाख ७३ हजार ४६७ पशुपन्छीलाई प्रमुख संक्रामक रोग विरुद्धको खोप लगाइएको कुरालाई पनि उपलब्धि मानेका छन् ।

यस्तै भेडा पालक कृषकहरु (५० भन्दा बढी भेडापालन गर्ने) लाई औषधि उपचार वापत प्रोत्साहन अनुदान कार्यक्रमबाट ४४० जना कृषकलाई ६९ लाख ३७ हजार प्रोत्साहन रकम वितरणबाट भेडापालन व्यवसाय प्रवर्दन भएको, सुर्खेत र रुकुम पश्चिम लगाएतका जिल्लाको विभिन्न स्थानमा जग्गा भाडामा लिई व्यवसायिक रुपमा खेती गर्ने ९७ जना कृषकलाई जग्गा भाडामा ५० प्रतिशत अनुदान उपलब्ध गराएको, बेरोजगार १ सय जना कृषि प्राविधिकहरुलाई स्वरोजगार कार्यक्रममा समावेश गराइएको मन्त्री शर्माले उल्लेख गरेका छन् ।

पशुपन्छीहरुलाई उपचार गरिएकोदेखि गाईभैसी र बाख्रामा कृत्रिम गर्भाधान गरी नश्ल सुधार गरिएका विगतकै कार्यक्रमहरुलाई पनि आफ्नो उपलब्धि मानेका शर्माले आफु मन्त्री भइसकेपछि गरेका कुनैपनि नयाँ र आशा लाग्दा काम भने गरेको देखिएन ।

शर्माले उल्लेख गरेका अन्य अन्य उपलब्धिहरु 

—विभिन्न जिल्लाहरुबाट तरकारी, किबी, अदुवा, दुध (२८ करोड), र खसीबोकाहरु विभिन्न सहरमा निर्यात भई ३ अर्ब २४ करोड ४० लाख ३७ हजार बराबरको पूँजी भित्रिएको,

— तथ्याङ्क संकलनलाई एकरुपता ल्याई व्यवस्थित बनाएर तथ्यमा आधारित नीति तथा योजना निर्माण गर्ने मेरो पहिलो निर्णयानुसार मन्त्रालय मातहतका कार्यालय र स्थानीय तहमा कार्यरत प्राविधिकहरुलाई तथ्याङ्क संकलनका विधिबारे क्षमता विकासका गरि तथ्याङ्क संकलन कार्य सुरु भएको र प्रदेशका मुख्य नाकाहरु सल्यानको कपुरकोट र सुर्खेतको बबईमा अस्थाई तथ्याङ्क संकलनकेन्द्र स्थापना गरि कृषि तथा पशुपन्छी जन्य उत्पादन आयत र निर्यातको तथ्याङ्क संकलन सुरु गरिएको छ । यसअघि २ महिनाको अवधिमा मात्र २२ करोड २२ लाख ८८ हजार रुपैयाँ बरावरको कृषि उत्पादनहरु निर्यात भएको,

— तरल नाइट्रोजन उत्पादन कारखाना स्थापनाको लागि डि।पी।आर, तयारी गरि खरिद प्रक्रिया सुरु गरिएको,

—हावा, हुरी तथा बाढीले क्षति भएको बालीको क्षति पूर्तिको लागि कृषकहरुलाई ३ करोड २६ लाख ९३ हजार १५२ रुपैयाँ राहत व्यवस्थापन गरिएको,

— जाजरको भूकम्पले कृषकहरुको पशुपन्छी तथा मौरीधारमा भएको क्षतिको राहतको लागि ३९ लाख ७४ हजार ९ सय रुपैयाँ व्यवस्थापन गरिएको,

—भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र नेपाल सरकारको पूर्ण स्वामित्व रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बीच सम्झौता गरिएको छ । जसमा कर्णालीमा उत्पादित प्राङ्गारिक तथा रैथाने बालीहरुको सहलन, प्रशोधन, ब्रान्डिङ र बजारीकरणबाट मूल्य अभिवृद्धि गर्न सुर्खेतमा रैथाने बाली प्रशोधन केन्द्र (मिल) स्थापना गरि कम्पनी मार्फत रैथाने बालीको बजार सुनिश्चितता गरिने छ,

—वीरेन्द्रनगरमा अत्याधिक माग भएको हिँउदे मकैको आयातलाई प्रतिस्थापन गर्न सुर्खेतको बबईमा ३ हेक्टर जमिनमा हिँउदे मकै खेती सुरुवात गरिएको,

— कर्णाली प्रदेशको हुम्ला जिल्लाको हिल्सा नाकामा कृषि तथा पशुपन्छी क्वारेन्टिन कार्यालय स्थापनाको लागि प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालयमा अनुरोध गरिएको,

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array