बुढेसकालको सहारा बनेका पश्चिमका दुई युवा, बालकुमारी आन्दोलनमै अस्थाए 

होस्ट खबर १४ पुष २०८०, शनिबार
5 Min Read
Aa

काठमाडौं : शुक्रबार बिहानदेखि नै ललितपुरको बालकुमारी क्षेत्र तनावग्रस्त भयो। कोरियन भाषा परीक्षा ‘ईपीएस कार्यालय’ परिसरमा भएको आन्दोलनमा प्रहरीले गोली नै चलायो। एका एक आन्दोलनको रुप लिँदा २ जना युवाले ज्यान गुमाउनु परेको छ भने दर्जनौ युवाहरू घाइते मात्र भएन मन्त्री चढने गाडी पूर्ण रुपमा जलेर नष्ट समेत भएको छ। मृत्यु हुनेमा  महाबु गाउँपालिका-६ दैलेखका सुजन राउत र चौरपाटी– १ सिउडी अछामका वीरेन्द्र शाह रहेका छन्।

आन्दोलनको अवस्था हेर्न गएका दैलेखका सुदन, आन्दोलनमै अस्थाए 

शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा मृत्यु भएका सुजन रावतको परिवारमा वर्षदिन नबित्दै अर्को बज्रपात परेको छ।

दैलेखको महावु गाउँपालिका–६ घर भएका २३ वर्षीय सुजनको ईपीएस परीक्षार्थीहरूले गरेको आन्दोलनका क्रममा प्रहरीको कुटाइबाट मृत्यु भयो। परिवारिक स्रोतका अनुसार खासमा सुजन आन्दोलनमा नभई त्यहाँको अवस्था हेर्न गएका थिए। तर, उग्र प्रदर्शन र आगजनीपछि प्रहरीको निशानामा उनी परे।

प्रहरीको लाठीचार्जमा छातीमा गम्भीर चोट लागेपछि उनी सडकमै बेहोस भएर लडेका थिए। राउतको शरीरमा निलडाम थिए। साथीहरूले एम्बुलेन्स बोलाएर किस्ट मेडिकल कलेज पुर्याए। चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए।

एक वर्षअघि मात्रै बुवा गुमाएका सुजन घरको ऋण तिर्न कोरिया जाने योजनासहित केही समय अघिमात्रै कोरियन भाषाको तयारीका लागि दैलेखबाट काठमाडौँ पुगेका थिए। सुजनको जन्म घर महाबु भएपनि दैलेख बजारमा उनको परिवारले भाडा पसल सञ्चालन गर्दै आएको थियो।

उनका बुवा भक्तबहादुर रावतको क्यान्सरका कारण एक वर्ष अघि मृत्यु भएको थियो। उद्योग वाणिज्य संघ दैलेखको पूर्व उपाध्यक्षसमेत रहेका भक्तबहादुर एक सफल व्यवसायीका रुपमा परिचत थिए। व्यवसाय धानिरहेका भक्त क्यान्सरले थलिएपछि उनको व्यवसायामा ब्रेक लाग्यो। उनको उपचारमा भएभरको सम्पत्ति समेत सकियो। २०७९ साल मंसिरमा १२ गते भक्तबहादुरको उपचारकै क्रममा मृत्यु भयो।

उपचारको क्रममा भएभरको सम्पत्ति सकिएपछि घरको सबै जिम्मेवारी छोरा सुजनको काँधमा आयो। त्यो सबै जिम्मेवारीलाई बहन गर्न सुजनले कोरियन भाषा सिकेर कोरिया जाने निधो बनाए।

गएको मंसिरमा बुबाको बरखी सकेर भाषा अध्ययनका लागि काठमाडौँ हानिएका थिए। तर, कोरिया जान काठमाडौँ पुगेका सुजन उतै अस्ताए। सुजनको निधनसँगै उनकी विधवा आमा नन्दा रावतमाथि वर्षदिनमै अर्को ठूलो बज्रपात परेको छ।

सुजनको शव बुझ्नका लागि उनका मामा टेकबहादुर कटुवाल तथा आफन्तहरू दैलेखबाट काठमाडौं हिँडेका छन्।

बुढेसकालमा आमाबुवाको सहारा बनेका अछामका वीरेन्द्र, आन्दोलनमै अस्थाए

अछामको चौरपाटी गाउँपालिका–१ सिउडीका २३ वर्षीय वीरेन्द्र बहादुर शाह दुई वर्षयता काठमाडौँमै थिए। चाडबाडमा घर आउजाउ गर्थे। गाउँमा कक्षा १२ उत्तीर्ण गरेर काठमाडौँ गएका उनी रोजगारीका लागि कोरिया जान भाषा पढिरहेका थिए। कोरिया गएर रोजगारी गर्ने उनको सपना थियो।

काठमाडौँमा बसाईका लागि घरपरिवारले खर्च जोहो गर्न सक्ने अवस्था थिएन। छोराको सपना साकार पार्न ५२ वर्षीय बाबु टेकबहादुर भारत हानिए। बुबा टेकबहादुर त्यसअघि घरमै खेती किसानी गर्थे।

बङ्लोरमा चौकीदारी गरेर उनले छोराको पढाइ र काठमाडौँ बसाइको खर्च जेनतेन धानिरहेका थिए। बीचमै उनी बिरामी परे। बिरामीले थलिएर एक साताअघि बुवा टेकबहादुर घर फर्किए।

छोरा वीरेन्द्र कोरिया जान पाएनन्। प्रहरीको गोली लागेर काठमाडौँमा ढले। ललितपुरको ग्वार्को र बालकुमारी क्षेत्रमा शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षार्थीहरूको आन्दोलनका क्रममा प्रहरीसँगको झडपमा गोली लागेर उनले ज्यान गुमाए।

‘भारतमा काम गर्न नसकेपछि वीरेन्द्रका बुवा घर फर्किए। छोराले भाषा परीक्षा पास गरेर कोरिया जान्छ भन्ने आश थियो,’ वीरेन्द्रका बाजे नाता पर्ने गणेशबहादुर शाहले भने, ‘आज यस्तो दुःखद खबर सुन्नुपर्यो।’

शाह परिवारको सहारा चुँडिएको छ। छोराको मृत्युको खबरपछि आमा बेहोस छिन्। अर्धचेत अवस्थामा रहेका बुवा टेकबहादुरसहित काका र केही परिवारजन शुक्रबार बेलुका काठमाडौँतर्फ लागेका छन्।

घरपरिवारमा रुवाबासी चलेको छ। इष्टमित्र र छरछिमेकले वीरेन्द्रकी आमालाई सान्त्वना दिइरहेका छन्।

वीरेन्द्रका जेठा दाइ एकेन्द्र महिनाअघि श्रीमतीसहित रोजगारीको खोजीमा भारतको मुम्बइ गएका थिए। गणेशका अनुसार भाइको निधनको खबरपछि उनीहरू घर फर्किरहेका छन्।
वीरेन्द्रले कक्षा १२ सिउडी माध्यमिक विद्यालयबाट उत्र्तिण गरेका थिए। उनको परिवारको आर्थिक अवस्था निकै कमजोर छ।

‘भारतमा रोजगारी गरेर जेनतेन भाषा पढाएका थिए। कोरिया गएपछि कमाइहाल्ला भन्ने सोच थियो,’ गणेश भन्छन्, ‘ऋणदान गरेरै भएपनि पठाउला, सपना साकार गरौँला सोचेका थियौँ। सबै भताभुङ्ग भयो।’

परिवारको सहारा ढलेपछि ठूलो बज्रपात परेको उनी बताउँछन्। ‘बुढेसकालमा आमाबुवाको सहारा थियो। ऋण खोजिदिनू। कोरिया गएपछि सबै कुरा ठिक भइहाल्छ भन्थ्यो,’ उनले भने, ‘सपना क्षणभरमै बिलिन भएका छन्।’

वीरेन्द्रको अन्तिम संस्कार काठमाडौँ गर्ने कि अछाम ल्याउने केही टुंगो लागेको छैन।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्