सुरु भयो छठ पर्व, आज नहाय खाय

होस्ट खबर १ मंसिर २०८०, शुक्रबार
3 Min Read
Aa

काठमाडौँ : धार्मिक एवं लोकआस्थाको पर्व छठ आजदेखि विधिवत् रूपमा सुरु भएको छ । खासगरी नेपालको तराई मधेशमा चार दिनसम्म धुमधामका साथ मनाइने यो पर्व पछिल्लो समय काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा पनि लोकप्रिय हुँदै गएको छ ।

भगवान् सूर्यको पूजाआराधना गर्ने यो पर्व विधिवत् रूपमा कात्तिक शुक्ल चतुर्थीदेखि चार दिनसम्म विधिपूर्वक मनाइन्छ । छठको पहिलो दिनलाई अरबा(अरबाइन पनि भनिन्छ । व्रतालुले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो जस्ता खाद्यान्न परित्याग गरी आजकै दिनदेखि व्रत बस्ने परम्परा छ । छठ पर्व अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइन्छ ।

अत्यन्त निष्ठा एवं पवित्रताका साथ यो पर्व मनाउनुपर्ने भएकाले भगवान सूर्यको पूजा गर्ने व्रतालुले शरीरलाई पवित्र बनाउने उद्देश्यले विधिवत् रूपमा स्नान गरी अरुवा अरुवाइन खाने गर्छन् । पञ्चमी तिथिमा दिनभर उपवास बसेर साँझपख नयाँ माटोको चुल्होमा खीर पकाइन्छ । त्यसपछि घरको देवीदेवतालाई चढाइएको खीर प्रसादका रूपमा व्रतालुले ग्रहण गरी परिवारका अन्य सदस्यलाई वितरण गर्ने गरिन्छ। यस विधिलाई खरना भनिन्छ ।

भगवान् सूर्यलाई अर्घ अर्पण गर्ने व्रतालुले पञ्चमी तिथिभर उपवास बसी साँझ मात्र प्रसाद ग्रहण गरेर पुनः उपवासलाई निरन्तरता दिन्छन् । त्यसपछि सप्तमी तिथिको बिहानसम्म अर्थात् कम्तीमा ५० घण्टासम्म उपवास बस्नुपर्ने हुन्छ । त्यसपछि षष्ठी तिथिमा पोखरीको डिल वा नदी किनारमा पूजाका सामग्री राखेर अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइन्छ । भोलिपल्ट सप्तमी तिथिमा उदाउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरेपछि विधिवत् रूपमा पर्व सम्पन्न हुन्छ ।

छठ पर्व मनाउँन यतिबेला पोखरी, नदी, तलाउ जस्ता पानीका स्रोत भएका ठाउँलाई सिंगार्ने, सफासुघ्र बनाउने, टेन्ट टाँग्ने क्रम सुरु भइसकेको छ । काठमाडौंका विभिन्न स्थानमा रहेको नदी तथा पोखरीहरुमा छठी माईको पूजाका लागि तयारीको काम अन्तिम चरणमा पुगेको छ । छठ पर्वको मुख्य दिन छठी माईको पूजाका लागि काठमाडौंको कमल पोखरी, कुपण्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरीलगायतका स्थानहरुमा यसको तयारीको काम अन्तिम चरणमा पुगेको हो ।

काठमाडौंको विभिन्न १३ स्थानमा छठ पर्वको तयारी भइरहेको छ । कमल पोखरी छठ कमिटीका अध्यक्ष राजेन्द्र सिंहले अहिले टेण्ट हाल्ने काम शुरु भएको र शनिबारसम्म सबै काम सकिने बताए । यस पर्वमा सूर्यलाई प्रसादका रूपमा ठेकुवा, भुसुवा, केरा, मिठाई, उखु, नरिवल, पान, सुपारीलगायत सामग्री नयाँ माटोका भाँडो र बाँसको टोकरीमा राखेर अर्पण गरिन्छ। यो व्रत एकपल्ट लिएपछि प्रत्येक वर्ष लिनुपर्छ भन्ने मान्यता छ ।

आफ्नो तथा परिवारको मनोकांक्षा पूर्ति, आरोग्यता, सुख र शान्ति प्राप्तिका लागि यो व्रत लिने गरिन्छ । परिवारमा कोही उपवास बस्न नसक्ने अवस्थामा छन् भने व्रत व्यत्तिःले उनीहरूका तर्फबाट प्रसाद सूर्यलाई अर्पण गर्न सकिने धार्मिक व्यवस्था छ । छठ पर्व विशुद्धरूपमा प्रकति र पुरूषको पूजा हो । सन्तान प्राप्तिका लागि दैवी कृपाको अपेक्षा यस व्रतले गरेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्